Sunday, 1 February 2015

रहरले बनाएको हाम्रो पात्रो १० लाख भन्दा बढीलाई काम लाग्यो

तपाईंको मोबाइलमा हाम्रो पात्रो भन्ने
एप्लिकेसन छ ? १० लाख भन्दा बढी मोबाइल
प्रयोगकर्ताहरुले डाउनलोड
गरिसकेकोहाम्रोपात्रोएउटाउपयोगीनेपालीएप्लिकेसन
हो । अमेरिकाको सिलिकन
भ्यालीमा कार्यरत सफ्टवेयर इञ्जिनियर शंकर
उप्रेतीले सन् २०१० मा व्यक्तिगत
प्रयोजनका लागि यो पात्रो तयार
पार्नुभएको थियो ।
त्यतिबेला उहाँलाई अनुमान पनि थिएन
कि यसका प्रयोगकर्ता ५ वर्ष पूरा नहुँदै १० लाख
भन्दा बढी हुनेछन् । गुगल प्ले स्टोर अथवा एप्पल
स्टोरबाट डाउनलोड गर्न सकिने
हाम्रो पात्रोका निर्माता शंकर उप्रेतीसँग
हाम्रो पात्रो र उहाँको नेपालदेखि सिलिकन
भ्यालीसम्मको जीवन अनुभवबारे
उज्यालो अनलाइनका लागि अच्युत घिमिरेले
गरेको कुराकानी :

हाम्रो पात्रो एप्लिकेसन कसरी सुरु गर्नुभयो ?

सन् २०१० मा म अमेरिकामा पढ्न
गएका बेला नेपाली पर्वहरु के के आए थाहै नहुने
भएपछि बुवाको मुख हेर्ने दिन कहिले होला, दर
खाने दिन कहिले हो जस्ता कुरा थाहा पाउन धेरै
गाह्रो थियो । बस्दाबस्दै आज
नेपालमा कति गते
भयो होला जस्तो चासो लाग्थ्यो ।
त्यो बेला मसँग आइफोन थियो । त्यसमा अरु
क्यालेण्डरहरु देख्थें तर नेपाली पर्वहरु चाहिं कतै
पाइन्न थियो । त्यसपछि मनमनमा सोच आयो,
बनाउँ न त एउटा क्यालेण्डर सबैलाई काम लाग्ने
कुरा हो भनेर बनाएँ । सुरुमा मैंले आफ्नै
लागि सोखले बनाएको हो तरपछि सबैलाई सेयर
गरौं न त भन्ने सोच आएर एप्स स्टोरमा रिलिज गरें
। बिस्तारै यसले लोकप्रियता प्राप्त गर्यो र
अहिले यो स्थितिमा आइपुगेको छ । अहिलेसम्म
मबाट व्यक्तिगत रुपमै चलिरहेको छ यो ।

तपाईंलाई प्रतिक्रियाहरु कतिको आउँछन्
नि हाम्रो पात्रोका लागि ?

धेरै नै प्रतिक्रियाहरु पाइरहेको छु मैंले । धेरैले
राम्रो भनेर तारिफ गरिदिनुभएको छ ।
यस्तो प्रतिक्रियाहरु आइरहेकाले मलाई झन्
हौसला मिलेको छ । कहिलेकाँही कुनै
तिथि मिति गलत भेटियो भने झन् कति धेरै
प्रतिक्रियाहरु आउँछन् । त्यसपछि म तत्कालै
सुधारिहाल्छु । सबैले सकारात्मक नै
प्रतिक्रियाहरु दिनुभएको पाएको छु ।

सुरुमा त पात्रोहरु संकलन गर्नुपर्यो होला ।
कसरी गर्नुभयो त्यो काम ?

त्यसको लागि मैंले नेपालबाट पात्रोहरु मगाएर
त्यसैको रेफरेन्स लिएर डेटाहरु तयार गरेको हुँ ।

तपाईं सफ्टवेयरमा काम गर्ने मान्छे । यो भन्दा अरु
विषयहरु पनि बनाउन सक्नुहुन्थ्यो होला ।
यसैमा किन रुचि लाग्यो त ?

त्यस्तो विशेष कारणले हैन । आफूलाई चाहिएर नै
मात्र बनाएको हुँ । विक्रम संवत्, इश्वी संवत् र
तिथी मात्रै जान्न पाए पनि सजिलो हुने भन्ने
सोचेर । क्यालेन्डर बनिसकेपछि प्रयोगकर्ताहरुले
यो राखे हुन्थ्यो भन्ने सुझाव
दिनुभयो अनि त्यसपछि मिति कन्भर्टर राख्दै गएँ
। चाँडै नै लोकप्रिय बन्दै गएकोले
यसका प्रयोगकर्ताको माग अनुसारका अरु अरु
कुराहरु थप्दै गएँ । आफ्नो संस्कृतिसँग
जोडिएको कुरा भएकोले पनि मलाई
यसमा रुचि बस्दै गयो ।

हाम्रो पात्रो भित्र सबैले उपयोग गर्न मिल्ने
कुराहरु छन् चाहिं के के ?

सुरुमा एउटा नेपाली क्यालेन्डर जसबाट
तिथि मिति र कुन कुन पर्व आउँदैछन् हेर्न सकिन्छ ।
त्यसको मुख्य प्रयोग चाहिं यसैको लागि हो ।
कहिलेकाँही विदेशमा बसेकाहरु वा स्वदेशमै
रहेकाहरुले पनि पर्वहरु बिर्सिन सक्छन् । त्यसले
सम्झाइदिने काम गर्छ । प्रयोगकर्ताहरुको सुझाव
अनुसार हामीले अहिले
थपेको कुराहरुमा नेपालमा सुनचाँदीको भाउ,
डलर र नेपाली रुपैयाँको सटही दर,
डलरको भाउलगायतका कुराहरु राखेका छौं ।
यसबाट रेडियो सुन्न पनि मिल्छ । यही तपाईंहरुकै
उज्यालो रेडियो पनि हाम्रो पात्रोबाट सुन्न
सकिन्छ । त्यसैगरी समाचारहरुका हेडलाइन
लगायत
विदेशमा बसेका नेपालीहरुका लगि उपयोगी हुन्छ
धेरै ।

अहिले तपाईंसँग हाम्रा पात्रोका प्रयोगकर्ताले
गरेको अरु मागहरु के के छन् नि ?

अहिले चाहिं हाम्रो आफ्नो रिमाइण्डर राख्न
पाए हुन्थ्यो भन्ने माग छ । अहिले हामीले गुगल
क्यालेण्डरबाट आफ्नो मिटिङ वा सम्झनुपर्ने
केही कुरा छन् भने अंग्रेजी तारिखबाट मात्र
रिमाइन्डर राख्न सक्छौं । त्यसैलाई नेपाली संवत्
अनुसार राख्नका लागि हाम्रो पात्रोले
व्यवस्था गरिदिए हुन्थ्यो भन्ने माग छ ।
हामी अहिले त्यसतिर काम गर्दैछौं ।

तपाईं जस्तै सफ्टवेयर इन्जिनिरयर धेरै हुनुहुन्छ
नेपालमा । अरुहरुले पनि उपयोगी यस्ता के के काम
गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? तपाईंलाई गर्न
मन लागेका तर समय नमिलेर गर्न नसकेका के के
गरिनुपर्छ होला ?

भविष्यमा ई कमर्स वा एप् प्ल्याटफर्मबाट
सामान खरीद बिक्री गर्ने व्यवस्था बसाउन सके
राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

नेपालमा सफ्टवेयर डेभेलपरहरुका सरकारले के सहयोग
गरिदिए तपाईंहरु जस्ता इञ्जिनियरहरुलाई
सजिलो पर्छ ?

अहिले चाहिं समस्या के छ भने हामीले नेपालमै
एप्स बनायौं भने त्यसलाई जुन ठाउँमा वितरण
गर्नुपर्ने हो प्लेस्टोरहरु, त्यहाँ चाहिं क्रेडिट
कार्ड चाहिन्छ । एप्स
बनाउनेको आइडेन्टिफिकेसनका लागि उनीहरुले
क्रेडिट कार्ड माग्छन् । नेपालमा इन्टरनेशनल पेमेन्ट
गेटवे नभएकोले नेपाली इञ्जिनियरहरुले
पेमेन्टको लागि विदेशमा बसेका क्रेडिट कार्ड
होल्डर साथीहरुसँग गुहार माग्नुपर्ने
अपरिहार्यता छ । यो एकदमै ठूलो समस्या हो ।
सरकारले यो समस्याको समाधान गरिदिन सक्ने
हो भने हाम्रा नेपाली धेरै उपयोगी एप्सहरु
बजारमा आउन सक्छन् । यो एप्स
डेभलपरहरुका लागि ठूलो चुनौती हो ।

सिलिकन भ्यालीमा बस्दै
आउनुभएका नेपाली इन्जिनियर तपाईं ।
कतिका लागि सिलिकन
भ्याली सपना पनि हो । तपाईं सिलिकन
भ्यालीको शब्दैबाट व्याख्या गर्नुपर्यो भने
तपाईं त्यहीं बस्नुभएको नेपाली, हामीलाई
कसरी चिनाउनुहुन्छ ?

सिलिकन भनेको बालुवा हो । यसलाई
चाहिं बालुवाको उपत्यका भन्दा पनि हुन्छ ।
यो नाम कसरी आयो भने हामीले चलाउने
मोबाइल वा कम्प्युटरमा प्रयोगमा हुने चिप्सहरु
बालुवा (सिलिका) बाट बन्छ । आज भन्दा ५०–६०
वर्ष अघि त्यो ठाउँबाट एचपीले चिप्सहरु बनाउन
थाल्यो । हुन त चिप्स भनेको हार्डवेयर हो तर
बिस्तारै त्यो ठाउँमा सफ्टवेयरको पनि प्रशस्त
विकास हुन थाल्यो र अहिले चाहिं संसारकै एक
नम्बरमा छन् त्यहाँ सफ्टवेयर बनाउने कम्पनीहरु जस्तै
गुगल, फेसबुक, एप्पल सबै त्यही ठाउँमै छ । र
सामान्यतया यसलाई बालुवाको शहर भनेर
बुझ्दा हुन्छ ।
तपाईं सिलिकन भ्यालीमा कुन कम्पनीमा काम
गर्दै हुनुहुन्छ ?
त्यहाँ सिमान्टिक कर्पोरेसन भन्ने कम्पनी छ ।
हामीले नर्टन एन्टिभाइरसहरु बनाउँछौं । म
त्यहीं कार्यरत छु ।

सिलिकन भ्यालीमा आउने अरु
देशका विद्यार्थी र नेपालबाट जानुभएका तपाईं
जस्ता नेपालीमा कामको गुणस्तरका हिसाबले
केही फरक अनुभव हुन्छन् ?

अनुभव भन्ने कुरा चाहिं अहिले के छ भने आफूले
चाह्यो भने संसारको कुनैपनि कुनामा बसेर
त्यही काम गर्न सकिन्छ । हाम्रो काम
वा अनुभवको कुरा गर्ने हो भने चाहिं स्तर
अरुको भन्दा फरक पर्दैन । उस्तै स्तरको काम
हामी नेपाली पनि गर्न सक्छौं ।

नेपालबाट पढेको विद्यार्थीले पनि विश्वस्तरमै काम गर्नसक्छौं ।
नेपालीको अध्ययन वा शिक्षाको स्तरमा दम छ
भन्ने आशय हो तपाईंको ?

त्यो दम छ तर कलेजको मात्र भर परेर हुँदैन ।
विद्यार्थीले पनि आफ्नो तर्फबाट केही गर्नुपर्छ
। कलेजमा जे पढायो त्यसकै भरमा मात्र परेर भएन ।
आफूले नयाँ कुरा के गर्न सकिन्छ भन्ने सोचेर हामीले
इन्टरनेटबाट अध्ययन गर्न सक्छौं ।
इन्फरमेसनको एक्सेस हामी सबैमा समान छ । त्यसैले
यसलाई हामीले सोच्नुपर्छ ।

सिलिकन भ्यालीमा काम गर्ने अरु
नेपाली कतिको हुनुहुन्छ ? तपाईंलाई
केही जानकारी छ ?

सबैसँग मेरो भेट त भएको छ्रैन तर प्रायः जसो सबै
ठूल ठूला कम्पनीमा धेरै नेपालीहरु हुनुहुन्छ । गुगल,
फेसबुक, एप्पलमा पनि धेरै जना नेपालीहरु हुनुहुन्छ ।
जे होस् धेरैजसो ठूला कम्पनीमा राम्रै
पोजिसनमा काम गरिररहनुभएको छ नेपालीहरुले ।

नेपालमा तपाईंको घर कहाँ हो ? स्कूलिंग
कहाँबाट गर्नुभयो ? तपाईं अमेरिका जानु
अघिको आफ्नो जीवनबारे बताउनुस् न ।

नेपालमा मेरो खास घर चाहिं वीरगञ्जमा हो ।
वीरगञ्जको त्रिजुद्ध माविबाट एसएलसी पास
गरेको हुँ । एसएलसीपछि काठमाडौं आएर प्लस टु
युनिभर्सल एकेडेमीबाट गरें र पुल्चोक क्याम्पसबाट
बीइ सकाएँ कम्प्युटर इन्जिनियररिङमा ।
त्यसपछि म बोस्टन गएँ र बोस्टन
युनिभर्सिटीबाट कम्प्युटर
इन्जिनियररिङमा मास्टर्स सकाएँ ।
त्यही दौरानमा म काम पनि गर्थें ।

सिलिकन भ्यालीमा चाहिं कसरी प्रवेश
गर्नुभयो ? कहिलेदेखि ?

अहिले साँढे दुई वर्ष भयो म सिलिकन
भ्यालीमा काम गर्न थालेको । म पहिले
बोस्टनमा एउटा सफ्टवेयर कम्पनीमा काम गर्थें ।
यसको नाम भेरिक्स हेल्थ हो ।
नेपालमा त्यसको अफिसलाई डिटुहकाइ
पनि भन्छन् । सबै सफ्टवेयर
इन्जिनियरको सपना हुन्छ सिलिकन
भ्यालीमा काम गरौं भन्ने । मलाई पनि रहर
थियो । त्यता साथीहरुसँग पनि मेरो चिनजान
थियो ।
उनीहरुसँगको कुराकानीका आधारमा मैंले
इन्टरभ्यु दिन थालें । मलाई दुईवटा कम्पनीले
छान्यो तर मैंले सीमान्टिक चाहिं छानें ।

अहिले यतिका वर्ष बाहिर बसेर इन्जिनियरिङ
प्राक्टिस गरिसकेपछि तपाईंलाई
नेपालको शिक्षाको मापदण्ड
विश्वस्तरमा कस्तो छ जस्तो लाग्छ ?

नेपालमा शिक्षा राम्रै छ तर अलि आउट्ड्टेड
भएको अनुभव हुन्छ मलाई ।
जस्तो कतिवटा विषयहरु जस्तै प्राविधिक
कुरा गर्दा कम्प्युटर आर्किटेक्चर
अथवा आल्गोरिदमहरुको हामी यहाँ खासै
वास्ता गर्दैनौं तर उता गइसकेपछि चाहिं त्यो नै
कुरा महत्वपूर्ण भएको पाइन्छ । हामीले
अलिकति फोकस भएर हेर्नुपर्छ कि जस्तो लाग्छ
मलाई । हाम्रो कोर्स अलि पूरानै
भएको अवस्था हो । जुन रुपमा रिभिजन हुनुपर्ने
थियो त्यो रुपमा भएको छैन ।
उदाहरणको लागि २००७ मा जुन बेला आइफोन
रिलिज भयो, त्यसपछि मोबाइल एप्लिकेसनहरु
खूब बन्न थाले तर
हाम्रा कोर्सहरुमा कुनैपनि सान्दर्भिक
च्याप्टरहरु छैनन् । विद्यार्थीले आफ्नो तर्फबाट
गरे जस्तै विश्वविद्यालयहरुले
पनि त्यस्ता कुरामा ध्यान दिने हो भने चाँडै
प्रगति गर्न सकिन्थ्यो ।
हाम्रोमासूचनाप्रविधिमाअतिमेधावीविद्यार्थीहरु
उत्पादन भएका छन् तर त्यो सबै व्यक्तिगत तवरबाट
अध्ययन अनुसन्धान गर्नेहरुको मात्र प्रतिफल हो ।
त्यही अध्ययन अनुसन्धानलाई
विश्वविद्यालयको तवरबाट गरिदिने हो भने
हामी नेपाली विद्यार्थीहरुले अझ राम्रो गर्न
सक्छौं ।

No comments:

Post a Comment