काठमाण्डु,४ फागुन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व पाठ्यपुस्तक पु¥याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले सोमबार आफ्नै कार्यालयमा सो मन्त्रालयका उच्च अधिकृतसँग गरेको छलफलमा हिमाली जिल्ला तथा कर्णाली अञ्चलका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुँदासम्म पाठ्यपुस्तक उपलब्ध नभएकामा आपत्ति प्रकट गर्दै तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयका उच्च अधिकारीले भने हिमाली तथा कर्णाली अञ्चलका जिल्ला सदरमुकामहरुमा पाठ्यपुस्तक उपलब्ध भइसकेको भएपनि वितरण नभएकाले केही दिनभित्रै सम्बन्धित विद्यालयमा पुग्ने जिकिर गरेका छन् ।
६९ जिल्लामा चैत २० गतेभित्र पाठ्यपुस्तक
नयाँ वर्षदेखि सुरु हुने अन्य जिल्लाको शैक्षिक सत्रका लागि ६९ जिल्लामा आगामी चैत २० गतेभित्र पाठ्यपुस्तक उपलब्ध हुने भएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि पनि विद्यार्थीले पाठ्यपुस्तक उपलब्ध गराउन नसकेकाले मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रप्रति चर्को आलोचना हुँदै आएको थियो ।
विद्यार्थी,अभिभावक सङ्घ तथा विद्यार्थी सङ्घसङ्गठनले सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना गरेपछि आयोगले आज छलफल गरी समस्या समाधान गर्न निर्देश गरेको हो । यस्तै आयोगले समयमा नै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्ने सुनिश्चितताका लागि मन्त्रालयले आयोगमा पेस गरेको कार्ययोजनाबमोजिम भए नभएको सम्बन्धमा निरन्तर अनुगमन गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता हरि लम्सालले आयोगको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको बताए । उनले केही जिल्लामा समस्या आएको भएपनि धेरै जसो जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जिकिर गर्दै केही दिनभित्रै वितरण हुने र विद्यार्थीले समयमा नै पाठ्यपुस्तक प्राप्त गर्ने बताए ।
No comments:
Post a Comment