काठमाडौं, माघ २९ - 'आज मौसम खुलेछ,' न्यु सर्जिकल
वार्डको १३ नम्बरको शय्याबाट चियाउँदै ४२ वर्षीय
प्रेमबहादुर थापामगरले माघ १२ गतेको भेटमा सुनाए ।
उनको फूर्तिलो स्वरले बाहिरको वातावरणको मात्र
होइन, उनकै जीवनमा माघ ८
पछि आएको परिवर्तनको पनि सन्देश दिन्थ्यो ।
संविधानसभा भवनमा नयाँ संविधानबारे
चर्काचर्की भइरहँदा उता बाँसबारीस्थित सहिद
गंगालाल अस्पतालमा एक सुकुम्बासी प्रेमबहादुरले
दोस्रो जुनी पाएका थिए ।
धादिङ छापथोक गाउँका मुटुरोगी प्रेमबहादुर एक
वर्षदेखि काठमाडौं धाइरहेका थिए । 'काम गर्दा मुटु
एक्कासि दुखेको थियो,' उनले भने,'त्यसपछि उपचार
गराउन आउँदा डाक्टरले छिट्टै भल्भ फेर्नुपर्छ भन्ने सल्लाह
दिए ।'
उनलाई जन्म दिएलगत्तै काखे छोरालाई छाडेर आमाले
दोस्रो बिहे गरिन् । बाबुले पनि अर्को विवाह गरेर घर-
जग्गा सबै बेची भारत लागे । प्रेमबहादुर मामाघरमा हुर्के
। १४ वर्षको उमेरमा उनी भारतको कोलकाता पुगे ।
रिक्सा चलाउने र अन्य मजदुरी गरे । रामेछापबाट
उता पुगेकी गीतालाई उनले जीवनसाथी पाए । चार
वर्षअघि धादिङबाट मामाको खबर पुग्यो,
'हामी हेरौंला, यतै आएर सँगै बस ।' नपढेका प्रेम र
बङ्गाली ज्यादा नेपाली कम बुझ्ने
गीता कमाएको केही पैसासहित तीन
छोराछोरी लिएर स्वदेश फर्के ।
'पैसा भएसम्म मामाले माया गरे ।
पैसा सकिएपछि हेला गर्न थाले,' प्रेमबहादुरले दुःख पोखे
। उनको परिवार
नेत्रावती प्राविको छेवैमा रहेको सरकारी जग्गामा छाप्रो हालेर
बसेको छ । प्रेमबहादुर मजदुरी गर्छन् भने गीता मासिक ३
हजारमा त्यही विद्यालयमा पियनको काम गर्छिन् ।
जेठो छोरा १६ वर्षका छन् । अर्को छोरा १४ र
छोरी १३ वर्षका छन् । छाप्रोमा साँघुरो भएपछि दुई
छोरा सधैं साथीहरूकै घरमा सुत्न जान्छन् ।
संघर्षमा बाँचिरहेको परिवारमा रोग संकट बनेर
छिर्यो । कहिले साहू त कहिले
कोही गाउँलेको सहयोगमा उनी उपचार गराउन
गंगालाल आइपुगे । तर डाक्टरको जवाफ भने सधैं एउटै
हुन्थ्यो, 'छिटो अप्रेसन गरेर मुटुमा नयाँ भल्भ फेर्नुपर्छ ।
नत्र बाँच्न गाह्रो छ ।'
सरकारले गरिब र असहायका लागि निःशुल्क उपचार र
अस्पतालमा बस्ने व्यवस्था मिलाइदिएको छ ।
त्यस्ता बिरामीले अस्पतालबाट एक लाख
रुपैयाँ बराबरको निःशुल्क औषधि पाउँछन् । बढीमा ३
हजार रुपैयाँ जम्मा गर्नसक्ने प्रेमबहादुरलाई सरकारले
दिने उपचार खर्चअघि ५० हजारजति रुपैयाँ आवश्यक पर्ने
रहेछ । सिटिस्क्यान गर्ने, रगत जम्मा गर्ने र
लगायतका पहिलो चरणको परीक्षण गर्न आफैंले
पैसा तिर्नुपर्दोरहेछ ।
पुस २४ गते राति गंगालालको जनरल
वार्डको दिनदुःखी र गरिबलाई
छुट्याइएको शय्यामा प्रेमबहादुर रोइरहेका थिए ।
'खल्तीमा पैसा छैन । काठमाडौंमा कसैलाई
चिनेको छैन । घर फर्किए उपचार नपाएर मरिने'
प्रेमबहादुरले सम्झिए, 'म रुनबाहेक केही गर्न सक्तिनथें ।'
आफ्ना ठूला बा बलरामलाई उपचार गराउन
पुगेका मधुसूदन भेटवाल त्यही शय्याको छेउमै थिए ।
नुवाकोट घर भई न्युरोडमा काम गर्ने मधुसूदनले भने, 'मलाई
दया लाग्यो र मैले सहयोग गरें ।' वार्डको एक्ट्रा-वान
भन्ने शय्यामा रोइरहेका प्रेमबहादुरको उपचार गर्न
मधुसूदनले मिसन एक्ट्रा-वान भन्दै
आफ्ना चिनजानका मान्छे र साथीहरूसँग आर्थिक
सहयोग मागे । आफूले पनि सहयोग गरे ।
मधुसूदनले डाक्टरहरूको सल्लाहअनुसार प्रेमलाई
काठमाडौं मेडिकल अस्पताल सिनामंगलमा लगेर
सिटिस्क्यान गराए । साथीहरूबाट ए-पोजेटिभ रगत
जम्मा गरे । माघ ७ मा शल्यक्रिया सफल भयो, ८ गते
होस खुल्यो । अस्पतालकै
प्रांगणमा रहेको जयन्ती ट्रस्टले दुवै भल्भ सहयोग गर्यो ।
'अस्पतालले ४ लाखको उपचार गरिदिने तर सुरुको ५०/६०
हजार नहुँदा बिरामी मर्ने अवस्था बनाउनुहुन्छ ?'
मधुसूदनले आक्रोश पोखे ।
पुस ४ मा काठमाडौं आएका प्रेमबहादुर माघ २१ गते पूर्ण
उपचार सकेर उही अस्थायी घरमा फर्किए । 'बाँच्दिनँ
जस्तो लागेको थियो, बाँचेरै फर्किएँ,' उनले भने,
'यी बाबु मेरो जिन्दगीमा भगवान् नै भएर आए ।' ।
मधुसूदनले उनको उपचार गराएर बाँकी रहेको २० हजार
रुपैयाँ दिएर प्रेमबहादुरलाई बिदाइ गरे । गाउँबाट
आएको पुरानो झोलाको ठाउँमा उनलाई
अस्पतालमा भेटेका अन्य व्यक्तिहरूले दिएको तीन
नयाँ झोला, मधुसूदनले किनिदिएको नयाँ चप्पल र
छातीमा शल्यक्रिया गर्दा चिरेको डोबलाई
नयाँ लुगाले छोप्दै प्रेमबहादुर लाहुरे शैलीमा गाउँ
फर्किए ।
Thursday, 12 February 2015
संयोगले पाएको जीवन !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment