अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश
गरेको दाबी गरेका छन् । १९ जेठ २०५८
मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल )
मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार
लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले
पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।
दरबार
हत्याकान्डको तीन
महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले
नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत
साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले
यतिसम्म भने , ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र
बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’ हरेक
महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे ’ मनाउने
क्रममा त्यस रात (१९ जेठ २०५८ ) भोजमा सरिक तत्कालीन
राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र
नातेदारको पनि हत्या भएको थियो ।
सरकारले पहिले स्वचालित हतियार
पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले
गोली चलाएर आफ्नै बाबु, आमा , भाइ र
बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
दीपेन्द्रले गोली चलाएका होइनन् , षड्यन्त्रपूर्वक वंश नै नाश
गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने
चर्चा जनमानसमा भए पनि घटनाका कुनै
पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान
दिएका थिएनन् ।
‘ दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार
बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने
लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी ’ हुन् ।
उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस
शाहसँगै भित्र आएका थिए । ‘ भोज चलिरहेको बेला पारस
गाडीमा बाहिरए ,’ लम्तेरीले भने ,
‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र
आएको हो । ’ लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै
खोपीमा रहेको पनि बताए । ‘ मलाई नै थाहा छ - दीपेन्द्र
सरकार नसा लागेर खोपीमा सुतेका थिए , नकावधारीले
पहिलो गोली त्यहीँ चलाएका हुन्,
त्यसपछि चारैतिरबाट गोली चल्यो ,
मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।
’ लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन्
। ‘दुईजना एडिसीले लास उठाएर सैनिक
प्रहरीको गाडीमा छाउनी पुर्याएका हुन् । दीपेन्द्र
त्यतिबेलै मरिसकेका थिए , ’ उनले भने । वीरेन्द्र र
नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले
पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ ,’
उनले भने , ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल
जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म
पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले
सानो स्वरमा दुख्यो , दुख्यो भनेको मैले सुनेको हुँ ।
अस्पताल पुगेपछि के भयो थाहा छैन ।’
गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस
खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल
लैजानुपर्यो भनेका थिए पारसले ,’ लम्तेरीले भने , ‘पारस र
उनका परिवारलाई केही पनि भएको थिएन ।’
खोपीमा सुतेका दीपेन्द्र
त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै
हत्यारा हुन् भन्दै प्रतिवेदन
आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन्
भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए ।
‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक
नरेन्द्र थापामगर , हवल्दार शिव कुँवर , नायक गुणबहादुर पुन र
एउटा सिपाही भएर दरबारको प्रमुख
सचिवालयमा बिन्तीपत्र हाल्यौं , ’ लम्तेरीले भने ,
‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट
घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस्
भन्यौं ।’ आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र
मारिएपछि ‘ त्यतिसम्मको दुस्साहस ’ गरेको उनले बताए ।
तर ‘ कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै
हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले
दरबारमा आतंक मच्चाएको भन्दै समातियो,
पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस
चलाएर मुद्दा हालियो ।
’ आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे
भएको दाबी गर्दै उनले भने , ‘म सांगीतिक क्षेत्रको मान्छे,
बाजा बजाउन , नाच्न , गाउन र खेल खेल्न सधैं अघि सर्थें,
त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै
प्यारो मान्छे थिएँ ।’ उनले दीपेन्द्रलाई मुड
भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए ।
‘गीत सुन्नुपर्यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम
हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें ,’
उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई
गाडीले किचेर मारेको आरोपमा तत्कालीन
राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए
। ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र ) पछि हटे ,’
उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ
मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले
दरबारभित्रै तनहुँ घर
भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए ।
‘ ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्यो ।
पछि बाहिर तालिमका बेला एम्बुसमा परेर
मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’
पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न
वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर
भएको लम्तेरीले बताए । दरबार हत्याकान्ड दीपेन्द्रले
नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ
गरिएका लालबहादुर सोह्रखुट्टेस्थित
आरामदायी लजका मालिक उत्तमराज
पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् ।
उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् ।
‘म निर्दोष छु ,’ उनले भने , ‘ मलाई जेल हाल्ने कुनै आधार थिएन,
तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले
पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे ।
‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन ,’ उनले
नयाँ पत्रिकासँग भने , ‘उनलाई हत्याको अभियोग
लगाइएको छ , तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ
पाउनुपर्ने मान्छे हो । ’ नख्खु कारागारका जेलर
चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान
मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार
उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार
लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् ।
लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट
नक्कली कागजात बनाएर
पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर
जेलमा हालिएका बताए । लम्तेरीको बयान म
लालबहादुर लम्तेरी मगर , घर पाल्पाको ठिमुरे हो । २०४९
सालमा सेनामा भर्ती भएर दरबारको सैनिक
प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ ,
गीत - संगीतमा त च्याम्पियन । ‘ रोयल फेमिली ’ सँग एकदमै
नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म
कसरी भनौं ! कतिसम्म भने
मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार
रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम
गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो ।
केही पर्यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त
मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने ,
पैसा दिने, बडो माया गर्ने । जागिर
खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले
अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार
शाही परिवारले जलपान गरेर ‘गुड प |mाइडे ’ मनाउने चलन
थियो । १९ जेठ २०५८ मा पनि जलपान
आयोजना भयो दरबारमा । त्यो दिन म
पनि बाहिरी ड्युटीमा थिएँ । दौरा , सुरुवाल, कोट र
कालो टोपी लगाएर पेस्तोल भिरेर म
ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ - नेपाल
टेलिभिजनमा सन्तोष पन्तको ‘ हिजो आजका कुरा’
कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो ।
त्यहीबीचमा पारस गाडीमा बाहिरिए ।
एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे ,
पारस पनि छिरे ।
यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले
पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै
खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान
हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न
पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ
क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र
सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त
जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर
पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले
गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी -
ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो ।
बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल
भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।
गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे,
खुट्टामा जुत्ता , चप्पल केही थिएन । उनले आउनेबित्तिकै
भने - ल भाइ हो , हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र
लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ
। मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ ।
ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त
पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास
भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए ।
धीरेन्द्रको बारेमा मलाई थाहा भएन ।
वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई
हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म
पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु,
अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो , दुख्यो भनेर
सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्याइए
पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन ,
ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले
धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार
अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै
हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई
दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ
२५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं र ४ बजेतिर
प्रमुख सचिवालयमा दर्ता गर्यौं ।
सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि ।
बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र
दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर ,
नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।
हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ ।
हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज
दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै
उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन
होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक
मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९
जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन
लाग्दा निर्मल निवास (सदन - हाम्रो भाषामा )
को फौज आएर मलाई समात्यो । मलाई
आँखामा कालोपट्टी बाँधेर क्वार्टर
गार्डमा (हिरासतमा ) राखियो । जबकि मेरो दोष
केही पनि थिएन । आँखामा पट्टी बाँधेर
नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो ।
त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक
हेडक्वार्टर , कहिले प्रहरी हेडक्वार्टर , कहिले कता लगेर एक
महिना झुलाइयो । दरबारभित्रको सैनिक
हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो ।
पछि थाहा भयो , मलाई पुरानो गोरखगणमा सरुवा गरेर
सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र , सैनिक
प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक
महिनाअघि समातेर मलाई एक
महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८
मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज
पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार
दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर
मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई
फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर , कुन
केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई
केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ
परिसकेको थिएँ ।
मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल
हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द
चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन
२०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर
गर्यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक
बाहिनीका बाहिनीपति सुदर्शन खड्का,
पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू
भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन
पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद
बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई
पनि समातियो भन्ने थाहा पाएँ , तर उनीहरू अहिले मरे-
बाँचेको मलाई थाहा छैन ।
यो पनि लेखिदिनुस् - दरबार हत्याकान्डमा सैनिकहरू
पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन , तर
छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू
केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ , तर
हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य
खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै
कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार
हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै
पनि सक्छ ।
No comments:
Post a Comment