काठमाडौं- अमेरिकाको न्युरोसलस्थित मोनरो कलेजबाट फाइनान्समा स्नातकोत्तर गरेकी श्रुति अमात्यले ५० प्रतिशत छात्रवृत्तिमा पढेकी हुन्। छात्रवृत्तिको राम्रो व्यवस्था भएकाले उच्च शिक्षा हासिल गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी कलेज तथा विश्वविद्यालय छान्ने क्रम बढ्दो छ। पढाइसँगै कामसमेत गर्न पाइने भएकाले पनि विद्यार्थी अमेरिकातर्फ आकर्षित भइरहेको अमात्यले सुनाइन्।
'स्नातकोत्तर पढ्दापढ्दै तीन ठाउँमा काम गरेँ,' श्रुतिले अमेरिकाबाटै भनिन्, 'अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका आएपछि आफैं कमाएर पढ्छन्। अभिभावकमाथि थप आर्थिक भार पर्दैन।' अन्तर्राष्ट्रिय विद्यार्थीले पढ्दापढ्दै साताको २० घन्टा कलेज तथा विश्वविद्यालयभित्रै काम गर्न पाउने व्यवस्थासमेत रहेको उनले जानकारी दिइन्।
पावरहाउस लजिस्टिकमा कार्यरत श्रुतिले मोनरो कलेजबाट पढाइ सकिनासाथ रोजगारी पाएको सुनाइन्। उनका अनुसार विद्यार्थीले स्नातक सकेपछि कानुनीरूपमै वर्क पर्मिट पाउँछन्। यसलाई करिकुलम प्राक्टिकल ट्रेनिङ (सिपिटी) भनिन्छ। साथै कुनै पनि विषयमा स्नातकोत्तर गरेकाले १२ महिनाको अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) वर्क पर्मिट पाउने सरकारी व्यवस्था छ। साथै साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, गणितलगायत प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले कानुनी रूपमै १७ महिनासम्म वर्क पर्मिट पाउने प्रावधानले विद्यार्थी अमेरिकातर्फ आकर्षित भएको उनको अनुभव छ।
विश्वस्तरीय विश्वविद्यालय तथा कलेजबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्र विश्वबजारमा बिक्ने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो।
शिक्षा मन्त्रालयका अनुसार तीन वर्षयता अमेरिका जाने विद्यार्थीको संख्या बढिरहेको छ। शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका उपसचिव नन्दलाल पौडेलले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष ६५ देशका लागि १५ हजार ८६ विद्यार्थीले पुसमसान्तसम्म नोअब्जेक्सन लेटर लिएका छन्। जसमध्ये १ हजार ४ सय ८१ विद्यार्थीले अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि नोअब्जेक्सन लेटर लिएका छन्। ०६९ मा अमेरिकाका लागि ८ सय ९ जना थिए भने ०७० मा १ हजार ४ सय ५६ थिए।
'अमेरिकामा पुराना र विश्वकै उत्कृष्ट विश्वविद्यालय रहेकाले र योग्यतअनुसार कामको अवसर भएकाले अभिभावककै पहिलो रोजाइ अमेरिका बनेको हो,' उपसचिव पौडेलले नागरिकसँग भने, 'स्टेटअनुसार शिक्षा व्यवस्था र विकेन्द्रीकरण शिक्षानीतिले समेत अमेरिका प्राथमिकतामा परेको छ।' उनले थपे, 'मास्टर्स र त्योभन्दा माथिलो तहका लागि नोअब्जेक्सन लेटर लिने धेरै छन्।'
अमेरिकामा विशेषगरी विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, समाजशास्त्र, आइटीलगायत विषयमा उच्चशिक्षाको राम्रो गन्तव्य अमेरिका बन्दै गएको नयाँ बानेश्वरस्थित रोयल एजुकेसनल फाउन्डेसनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जनाए। उनका अनुसार अमेरिकी शिक्षाले फ्याकल्टी अनुपातलाई विशेष ध्यान दिएको हुन्छ। विद्यार्थी संख्याको अनुपातमा प्राध्यापक व्यवस्था गरिएको हुन्छ।
शैक्षिक योग्यताअनुसार अमेरिकाका कलेज तथा विश्वविद्यालयले पूर्ण छात्रवृत्तिसमेत व्यवस्था गरेका हुन्छन्। स्नातक गरेका विद्यार्थीले विश्वविद्यालयभित्रै प्रध्यापकको साथमा रहेर टिचिङ एसिस्टेन्सिपको काम पाउँछन् भने स्नातकोत्तर पढिरहेको अवस्थामै विद्यार्थीले प्रध्यापकको सहयोगी बन्ने अवसर पाउँछन्। जसलाई ग्राजुएट एसिस्टेन्सिप भनिन्छ।
यसका अतिरिक्त अनुसन्धानका विद्यार्थीले अनुसन्धानकै काम गरेर पढ्छन् भने साधारण विद्यार्थीले क्षमताअनुसार काम पाउँछन्। 'शैक्षिक योग्यता ठिकै भएका तर अतिरिक्त क्रियाकलापमा राम्रो दक्खल भएका विद्यार्थीलाई समेत अमेरिकाका विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिन्छन्,' ११ वर्षदेखि परामर्श दिँदै आएका पाण्डे भन्छन्, 'अमेरिका जानुअघि अंग्रेजी भाषामा राम्रो दक्खल राख्नु राम्रो हुन्छ।'
अमेरिकाका ५० स्टेटमा २ हजार सरकारी र निजी विश्वविद्यालय छन्। यसैगरी अमेरिकन सरकारकै स्वामित्वमा १ हजार २ सय सामुदायिक कलेज सञ्चालित छन्। विश्वका दुई सय उत्कृष्ट विश्वविद्यायमा ७४ वटा अमेरिकामै पर्छन्।
पुतलीसडकस्थित सोनिया इन्टरनेशनल एजुकेसन सेन्टरका (एसआइइसी) कन्ट्री म्यानेजर नवराज केसीका अनुसार शैक्षिक लगानी र बसोबासका हिसाबले सुरक्षित हुने भएकाले अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि अमेरिका पठाउने गरेका छन्। शैक्षिक योग्यताका साथै टोफेल, आइइएलटिएस, जिआरई राम्रो हुनेले सतप्रतिशत छात्रवृत्ति पाउँछन्। अमेरिकामा सरकारी कलेज र विश्वविद्यालयको संख्या धेरै छ। 'शैक्षिक योग्यता राम्रो र आर्थिक पक्ष बलियो भएका विद्यार्थीले भिसा पाउँछन्,' केसी भन्छन्, 'विश्वविद्यालय वा कलेजको अफर लेटर प्राप्त गरेपछि मात्र शैक्षिक शुल्क बुझाउने प्रावधानले लगानी पनि सुरक्षित हुन्छ। विद्यार्थीले पढाइसाथै सीप सिकेर जानु लाभदायी हुन्छ।'
अमेरिका अध्ययन र अवसर दुवैका लागि विश्वमै राम्रो मानिने भएकाले नेपाली अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै गएको कमलादीस्थित प्याक एसिया स्टडिज अब्रोडकी बिजनेस हेड लिसा शेरचन बताउँछिन्। लिसा आफैं पनि अमेरिकामा १५ वर्ष बसेर फर्केकी हुन्। उनले १० वर्षदेखि अमेरिकी शिक्षाबारे परामर्श दिँदै आएकी छन्। अमेरिकाको वेसलेन कलेज जर्जियाबाट बिबिएमा स्वर्णपदक हात पारेकी उनी पढ्ने मनसाय भएको विद्यार्थीका लागि अमेरिका उत्तम हुने दाबी गर्छिन्। लिसाका अनुसार अमेरिका सरकारले साधारणसाथै प्राविधिक र सीपमूलक शिक्षामा समेत जोड दिएको छ। जसका कारण विद्यार्थीले विश्वविद्यालय तथा कलेजमै क्षमता र सीपअनुसार रोजगारीको अवसर पाउँछन्।
'गर्मीदेखि जाडोसम्मको वातावरण अमेरिकी स्टेटमा पाइने भएकाले विद्यार्थीले आफू अनुकूल स्थानमा कलेज वा विश्वविद्यालय रोज्न सक्छन्,' लिसाले नागरिकसँग भनिन्, 'अमेरिकामा धेरै नेपाली भएकाले उनीहरुका सन्तान पनि उत्तै जान रुचाएका हुन्।'
परामर्शदाताले भिसाको प्रत्याभूति नलिने भएकाले विद्यार्थीको अन्तर्वार्ता र उसले बुझाएको शैक्षिक र आर्थिक योग्यताले नै काउन्सलरले निर्णय गर्ने हुनाले विद्यार्थीले यसबारे पूर्ण तयारी गर्नुपर्ने रोयल एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक पाण्डेले सुझाए।
No comments:
Post a Comment