सिड्नी– अफगानिस्तानका कप्तान मोहम्मद नाबीले शनिबार अफगानिस्तानलाई संसारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप सुनौलो मौका भएको बताए।
अफगानिस्तानले विश्वकपको पहिलो खेल बंगलादेशविरुद्ध फेब्रुअरी १८ मा क्याबेरामा खेल्नेछ। क्रिकेटमा भर्खरै पाइला चालेको अफगानिस्तानका लागि यो प्रतियोगिता ठूलो अवसर भएको नाबीले बताए।
‘५० ओभरको विश्वकप हाम्रो सपना हो,' अफगानिस्तानबारे प्राय द्वन्द्वको मात्र सामाचार आउने गरेको सन्दर्भमा नाबीले भनेे, ‘विश्वकपमा हुने खेलाडीको सकारात्मक समाचारले अफगानी जनता र विश्वका सबै मानिसको मनस्थितिमा परिवर्तन ल्याउने छ।'
५० ओभरको विश्वकपमा अफगानिस्तानको पहिलो सहभागिता हो। २०१० र २०१२ को ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाए पनि अफगानिस्तानले सबै खेल हारेको थियो।
गत वर्ष भएको एसिया कपमा बंगादेशलाई हराएकाले विश्वकपमा पनि बंगलादेशविरुद्धको खेल राम्रो हुने नाबीको अपेक्षा छ। तर आफगानिस्तान रहेको समूहमा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका र इङल्यान्ड भएकाले नकआउट चरण पुग्न भने सहज छैन।
‘हाम्रो तर्फबाट राम्रो गर्नेछौं र आशा गरौं दोस्रो चरणमा पुग्नेछौं,' नाबीले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको दोस्रो चरणमा पुग्नु हो। यदि पहिलो खेलमा बंगलादेशलाई हरायौं भने दोस्रो चरण पुग्ने आशा गर्न सकिन्छ।'
No comments:
Post a Comment