संविधानसभामा कान्छी सभासद् रहेकी सरिता यादव
पूर्व सञ्चारमन्त्री राजकिशोर यादवकी श्रीमती हुन् ।
उमेरले साढे २५ वर्षकी सरिता र राजकिशोर यादववीच
१० वर्षअघि विवाह भएको थियो । तर विवाह
अगाडि राजकिशोरले अर्कै एक जना केटीलाई मन पराउँथे
। पछि मात्र उनले सरितासँग विवाह गरेका थिए ।
सरिता यादव जो अहिले संविधान
निर्माणको जिम्मेवारी बोकेर संविधानसभाभित्र
छिन्, उनी र राजकिशोर यादवबीच कसरी भेट भयो ?
उनीहरूको प्रेम सम्बन्ध बारे राजकिशोर यादवको बयान:
प्रेम सबैका लागि अनिवार्य हुन्छ । र, २०५९ तिर
पुग्दा मलाई पनि जीवनसाथीको प्रेमको अभाव महसूस हुन
थाल्यो । आफ्नो हुनेवाला जीवनसाथी यस्ती भइदिए
हुने, उस्ती भइदिए हुने भन्ने जसको पनि चाहना हुन्छ । यसै
क्रममा ०५९ सालतिरको कुरा हो, मैले एकजना केटीलाई
मनमनै मनपराउन थालें । जीवनमा मैले पहिलो पटक कुनै
एउटी केटीलाई मन पराउँदै थिएँ । जतिबेला म आफ्नो सफल
भविष्यका लागि काठमाडौंमा भौतारिंदै थिएँ ।
एकातिर एकदम राम्रो जागिर वा व्यवसाय र अर्कोतिर
दुःखसुखमा साथ दिने जीवन संगिनीको खाँचो महसूस हुँदै
जाँदा मैले उनलाई मन पराएको हुँ । मैले मन
पराएको केटी मेरो आफ्नै अफिसको स्टाफ थिइन् ।
जतिबेला म सीता एयरको इञ्जिनियर थिएँ । मैले मन
पराएको उनी एयर होस्टेज हुन् । अहिले उनको विवाह
पनि भइसक्यो नाम चाहिं नभनौं । उनी मेरो मिल्ने स्टाफ
पनि भएकाले म उनीलाई निकै माया गर्थें तर भन्न
सकेको थिइनँ । एउटा असल
साथीको रूपमा चाहिं उनी पनि मलाई माया गर्थिन्
तर साँच्चै प्रेम प्रस्ताव राखेको भए के जवाफ पाउँथें मलाई
आजसम्म पनि थाहा छैन । लामो हाँसो …
कार्यालयमा सँगै रहँदा र सँगै नरहँदा पनि म उनीसँग
विवाह भएका सपनाहरू देख्न थाल्थें ।
त्यसपछि जतिवेला पनि मेरो मनमा म उनीसँग विवाह
गर्न पाए हुन्थ्यो, जीवनसाथी बनाउन पाए हुन्थ्यो भन्ने
लाग्थ्यो । त्यतिबेलासम्म म उनलाई यसरी मन पराउन
थालिसकेको थिएँ कि अब मेरा लागि अन्य विकल्प नै छैन
जस्तो । जतिवेला पनि मेरो मनमा उनी मात्र आउँथिन् ।
त्यसपछि मैले मेरो एक जना मिल्ने साथीलाई यी सबै
कुरा भनें । तर उसले मेरो अपेक्षा विपरीतको सुझाव मलाई
दियो । उसले मलाई तिमीहरूको विवाह सम्भव छैन,
विवाहका लागि पृष्ठभूमि नै मिल्दैन,
उनी काठमाडौंकी केटी, उनीसँग कल्चर देखि प्रोफेसन
केही पनि मिल्दैन, अब यस्तो सपना बन्द गरिदेयो भन्यो ।
ऊ मेरो मिल्ने साथी थियो, मैले नाइँ भन्न सकिनँ र सजिलै
हुन्छ पनि भन्न सकिनँ । उसले फेरि भन्यो, यदि तिमीहरू
दुईको विवाह भयो भने पनि लामो समयसम्म सम्बन्ध सुमधुर
हुन गाह्रो छ । साथीको यो सुझावले भने मलाई निकै
झस्क्यायो । केही दिनका लागि मात्र मन पराएर हुँदैन,
जीवनसाथीलाई जीवनभरि यस्तै माया गर्न सक्नुपर्छ तर
संस्कार, पृष्ठभूमि आदित्यादि कारणले तिमीहरूबीच
राम्रो सम्वन्ध नहुन सक्छ भन्नेमा साथीको जोड रह्यो ।
साथीको त्यस्तो सल्लाहले मलाई निकै गम्भीर
बनायो र यो सम्बन्ध वा मभित्र आएको भावनालाई
विभिन्न पाटोबाट केलाउँदै थिएँ, एक्कासी मलाई
घरबाट बोलाइयो र म घरतिर लागें । म त्यतिबेला एक
प्रकारको फ्रस्टेसनमा थिएँ । किनकि म मैले
चाहेजस्तो जिन्दगी पाइरहेको थिइनँ । म
जागिरमा पनि सन्तुष्ट थिइनँ र जे
भइरहेको थियो त्यसमा झनै सन्तुष्ट थिइनँ । मेरो अर्धचेतन
मनले मलाई सामान्य जीवनस्तरमा रमाउनै दिएन ।
एकातिर प्रेम चक्कर र अर्कातिर भविष्यको चिन्ता । म
हरेक समय के गर्दा चर्चामा पुग्न सकिन्छ भन्ने
सोचिरहेको हुन्थें । त्यतिबेला सँगै पढेका मेरा साथीहरू
दिल्लीमा कम्तीमा पनि महिनाको २ लाख भारु
कमाइरहेका थिए । तर म सकिरहेको थिइनँ । म धेरै
पैसा कमाउन चाहन्थें । किनकि मलाई अरूले
भन्दा बढी केही गर्न मन थियो । यसरी २०६० देखि २०६३
सम्मको मेरो जीवनमा निकै उतारचढाव आयो ।
घर गएपछि परिवारमा मेरो विवाहको कुरा चल्यो ।
विवाह मैले मन पराएकी केटीसँग हुँदै थिएन । किनकि मैले
उनलाई मन मात्र पराएँ तर मन पराउँछु भनेर भन्न सकिनँ ।
मेरो बारेमा सरिता (अहिलेकी श्रीमती) को घरबाट
मेरो बारेमा कुरा आयो । त्यसपछि बुबा र केही आफन्तहरू
गएर केटी हेर्नुभयो । उहाँहरूलाई केटी मन परेपछि विवाह
गर्ने कुराकानी गर्नुभएछ । हाम्रो यादव
परिवारमा केटाले भन्दा पनि केटाको बाबु वा आफन्तले
केटी हेर्ने र उनीहरूले मन पराएपछि मात्र विवाह गर्ने
प्रचलन थियो । तर मैले म आफैंले केटी हेरेर उनीसँग
कुरा गरेपछि मात्र विवाहको निष्कर्षमा पुग्ने प्रस्ताव
राखें । म मेरो हुनेवाला श्रीमतीसँग मेरो चाहना, बुझाइ
वा विचारका बारेमा कुराकानी गर्न चाहन्थें ।
त्यसपछि म र मेरो भरत शर्मा भन्ने साथीलाई लिएर
केटी हेर्न र उनीसँग कुरा गर्न सरिताको घर गएँ ।
सरिता र म छुट्टै एउटा कोठामा बसेर कुरा गर्न थाल्यौं ।
उक्त भेटमा मैले मेरो परिचय लुकाएको थिएँ । मैले म
राजकिशोरको साथी भएको र उसले यस्ता कुरा गरेर
आउनु भनेकाले आएको भनी ढाँटें र कुराकानी गरें । कुरा गर्दै
जाँदा उसको सादा जीवन, बोलीबचन, हँसाइ जस्ता सबै
कुराले मलाई प्रभावित बनायो र लगभग
आधा घण्टाको कुराकानीमै उनी मेरो मनभित्र
बसिसकेकी थिइन् । मलाई यो केटी ठीक छ भन्ने
निष्कर्षमा पुगें । त्यसपछि मात्र मैले आफू नै राजकिशोर
यादव भएको बताएँ ।
मैले आफ्नो परिचय खुलाएपछि उनी झनै खुलिन् । उनले
श्रीमान्बाट साथीको व्यवहार, आफ्नो फिलिङ
बुझोस्, मलाई माया चाहिएको हो, माया दिन
सक्नुपर्छ जस्ता कुरा गरिन् । त्यसपछि हाम्रो परम्परागत
रूपमा विवाह सम्पन्न भयो । यसरी शुरु
भएको हाम्रो सम्बन्ध अहिले पनि निकै सुमधुर छ । उनी र
मबीच १५ वर्षको उमेर भिन्नता छ तर उमेरका कारण
हामीमा कहिल्यै पनि मतभिन्नता आएको छैन ।
उनी निकै परिपक्व र इमान्दार महिला हुन् । यसैकारण
पनि हाम्रो सम्बन्ध यति सुमधुर रहेको मेरो बुझाइ छ ।
विवाह भएको दुई वर्षपछि हाम्रो जेठो छोरो जन्मियो,
ऊ अहिले २ कक्षामा पढ्छ ।
कान्छो छोरा युकेजीमा पढ्दैछ र छोरीलाई अहिले
प्लेग्रुपमा राखेको छु । विवाह भएको १० वर्ष
भइसक्यो हामीबीच एक दिन पनि भनाभन भएको छैन ।
उनी साढे २६ वर्ष भइन् तर निकै परिपक्व छिन् ।
हामी यति खुसी भएर बस्न
चाहन्छौं कि कहिलेकाहीं विवाह नभएको गर्लफ्रेण्ड
ब्वाइफ्रेण्डको जस्तो सम्बन्ध बनाउने र जिस्कने
पनि गर्छौं । यो हाम्रो एकअर्कामा खुशी साटासाट
गर्ने एउटा तरिका हो । फुर्सदको समयमा पनि हामी घरमै
रमाइला कुराकानी गरेर विताउँछौं ।
Monday, 9 February 2015
यसरी झांगिएछ कान्छी सभासद् र राजकिशोरको माया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment