काठमाडौ, पुस २२ - मुलुकभर खाना पकाउने ग्यासको हाहाकार भए
पनि सरकारले नियमन गर्न नसक्दा सर्वसाधारण सास्ती खेप्न
बाध्य छन् ।
केही समयअघि भारतको बरौनीबाट ग्यास कम
भित्रिएको र जाडोमा माग
बढेको मौका छोपी व्यवसायीले
कालोबजारी सुरु गरेपछि बजारमा चरम अभाव भएको हो ।
दिनभर लाइन बसे पनि उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।
'अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका बेला मुलुकमा पुरानै मूल्य छ ।
तैपनि उपलब्ध गराउन नसक्नु सरकारकै लाचारी हो,'
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, 'सरकार र
आयल निगम कालाबजारीसँग मिलेका छन् ।'
निगमले भने सबैभन्दा बढी ग्यास आयात हुने
बरौनी नाका मर्मतका लागि बन्द भएकाले
यस्तो स्थिति आएको दाबी गरेको छ ।
बरौनी रिफाइनेरी मर्मतका लागि ४५ दिन पहिले
बन्द भई दुई साताअघि खुलेको थियो । त्यहाँबाट ५०
प्रतिशतभन्दा बढी आपूर्ति हुने निगमले जनाएको छ ।
प्रायः जाडो महिनमा रिफाइनेरी केही दिनका लागि बन्द
हुन्छ । तर, बन्दको समयमा सरकारले वैकल्पिक उपाय खोजेको छैन ।
'सरकारलाई मर्मत हुँदैछ भन्ने २ महिनाअघि नै थाहा थियो,'
महर्जनले भने, 'तर कालाबजारीलाई सघाउन उसले
वैकल्पिक उपाय नै अपनाएन ।' बरौनीबाहेक हल्दिया र
मथुराबाट पनि ग्यास लिन सकिने सम्झौता भारतसँग भएको छ ।
नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष
शिव घिमिरेले जाडो मौसममा आयात नै घट्ने भएकाले अभाव सिर्जना भएको बताए
। उनका अनुसार गत वर्ष डिसेम्बर महिनामा २३ हजार ४ सय टन ग्यास
आयात भएकामा यसपालि १६ हजार टन मात्रै आयात भएको छ ।
अभावको मौका छोपी नयाँ वा पुरानै सिलिन्डर
पनि बढी मूल्यमा बेच्न लुकाउने गरेको बिक्रेता आफैं
स्वीकार्छन् । 'अभावका बेला सिलिन्डर बेच्ने चलखेल
हुन्छ,' ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले भने, 'तर
कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ ।'
अभाव हटाउन आपूर्ति नै बढाउनुपर्ने उनले बताए ।
उपभोक्ताहरूका अनुसार ५ हजार रुपैयाँ बढी तिरेर सिलिन्डर
किन्न तयार हुने हो भने बजारमा जति पनि ग्यास छ । 'तर १५
सयमा ग्यास किन्न पाइँदैन,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष
माधव तिमिल्सेनाले भने, 'केही कम्पनीले
पुरानो डिपोलाई ग्यासै नदिने र नयाँलाई भने सिलिन्डरसहित बेच्नका लागि दिने
गरेको पाइएको छ ।'
निगमले मुलुकको मागलाई धान्ने गरी मासिक करिब २२ हजार ३
सय ७७ टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ । यसमध्ये
व्यवसायीले औसत १९ हजार ३ सय टन मात्र खपत
गरिरहेका छन् । निगम प्रवक्ता मुकुन्द घिमिरेले बरौनी,
हल्दिया र मथुरा तीनवटै नाकाबाट ग्यास आउने क्रम
बढेकाले केही दिनभित्रै अभाव हट्ने बताए ।
'बरौनी रिफाइनेरी बन्दले
आयातमा समस्या भएको थियो,' उनले भने, 'अहिले दैनिक ५० बुलेट ग्यास
भित्रिएको छ । ४/५ दिनमा सहज हुन्छ ।' निगमका अनुसार एक
बुलेटमा १८ टन ग्यास हुन्छ । एक टन ग्यासबाट ७० सिलिन्डर उत्पादन
हुन्छ ।
वाणिज्य तथा आपूर्ति विभागले सोमबार अनुगमन गर्दा ग्यास
उद्योगले पठाए पनि बजारमा अभाव भएको पाइएको छ । विभागले नेपाल, भानु र
ओम ग्यास प्रालिको मुख्य डिप्पोमा अनुगमन गरेको थियो । नेपाल ग्यासले
सोमबार ४ हजार
५ सय, भानुले १६ सय, ओमले १३ सय सिलिन्डर
राजधानीमा पठाएको थियो । 'ग्यास उद्योगले पठाए
पनि उपभोक्ताले नपाउनुले कृत्रिम अभाव सिर्जना गरिएको प्रस्ट हुन्छ,'
अनुगमनमा सहभागी तिमिल्सेनाले भने, 'कृत्रिम अभाव
गराउनेलाई कारबाही गर्नुपर्छ ।'
Tuesday, 6 January 2015
मुलुकभर खाना पकाउने ग्यास हाहाकार जाडोको मौकामा व्यापारीको कालोबजारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment