काठमाडौं, माघ ३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ आजदेखि नामिबियामा सुरु भएको छ । पहिलो खेलमा नेपालले युगान्डासँग खेलिरहेको छ ।
विजयका लागि नेपालले १ सय ४७ रनको सामान्य चुनौती पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगान्डानेपाली बलरसामु लड्खराएसँगै एक बल खेल्न बाँकी छँदै अलआउट हुँदा १ सय ४६ रन बनायो ।
कसिलो बलिङ गर्नेक्रममा कप्तान पारस खड्काले ९ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी, बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए ।
बसन्तले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेका थिए भने सोमपालले ९ ओभर ५ बलमा ३१ रन खर्चेका थिए । शक्ति गौचनले ९ ओभरमा अहिलेसम्मकै बढी ४ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।
तीव्र गतिका ‘डेब्यु’ खेलाडी करन केसीले भने ७ ओभरमा २७ रन खर्चेर कुनै विकेट लिएनन् । कमजोर ब्याटिङ गरेको युगान्डाका लागि ब्रायन मासाबाले सर्वाधिक ४३ रन जोडे ।
दक्षिण अफ्रिकामा पहिलोपटक तीन अभ्यास खेल खेलेर राम्रो तयारीका साथ नामिबिया पुगेको नेपाल एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो फड्को मार्ने अभियानमा छ । कप्तान खड्काले तयारी राम्रो भएकाले उपाधि जितेरै नेपाल फर्किन खेलाडीहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतियोगितामा नेपाल र युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडा छन् ।
No comments:
Post a Comment