Saturday, 17 January 2015

चर्चा बाहिरका अर्बपति

काठमाडौ, माघ ३ - पलोनजी मिस्त्री विश्वकै सबैभन्दा कम नाम सुनिने अर्बपति हुन् । ८२ वर्षका मिस्त्री १० अर्ब अमेरिकी डलर सम्पत्ति भएका भारतीय मूलका अर्बपति हुन् । जसलाई ज्यादै कम सार्वजनिक कार्यक्रममा देख्न वा सुन्न सकिन्छ । भारतको एक प्रमुख व्यवसायी मिस्त्रीले आफ्नो जन्मथलोसहित दक्षिण एसिया र अपि|mकामा निर्माण व्यवसायको साम्राज्य फैलाएका छन् ।

उनले आफ्ना छोरासहित टाटा सन्समा १८ दशमलव ५ प्रतिशत सेयर राख्छन् । १ खर्ब डलर बराबरको मानिने टाटा ग्रुपमा मिस्त्रीको परिवार सबैभन्दा धेरै व्यक्तिगत सेयर हुनेमा पर्छन् । उनका छोरा सायरस मिस्त्री हाल टाटा समूहको अध्यक्ष हुन् । कम्पनीको संस्थापक परिवारबाट अन्तिम अध्यक्षका रूपमा रतन टाटापछि बाहिरियाका रूपमा सायरसले व्यवसाय सम्हालेका छन् ।

निर्माण व्यवसायी पलोनजी मिस्त्री नागरिकताका आधारमा आइरिस हुन् । आइरिस महिलासँगको विवाहपछि उनी नयाँ मुलुकको नागरिक भएका हुन् । तर बसोबास भने भारतमा धेरै गर्ने गरेका छन् । भारतको चौथो अर्बपति पलोनजी आयरल्यान्डका सबैभन्दा धनी व्यक्ति हुन् ।

घोडाको सौखबाहेक मिस्त्रीको आयरल्यान्डमा अन्य कुनै काम नदेखिएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । २००८ मा मिस्त्रीको जीवनी सार्वजनिक भएको थियो । मनोज नाम्बुरुले 'दि मुग्लस अफ रियल स्टेट' नामक जीवनी बाहिर ल्याएका थिए । तर यो जीवनी ५ पृष्ठ लामो मात्र छ । उनीबारे कम जानकारी बाहिर हुने भएकाले जीवनीको आकार पनि सानो भएको हो ।

२०१२ मा फोब्र्सले उनको सम्पत्ति ९ अर्ब ७० करोड डलर बराबर रहेको उल्लेख गरेको थियो । जसले उनलाई सबैभन्दा धनी फारसी र आयरल्यान्डको नागरिक बनाएको थियो । मिस्त्रीको सम्पत्तिमा धेरै हिस्सा टाटा समूहको सेयरबाट आएको छ । टाटाको सेयर पनि मिस्त्रीले पैसा कमाइहाल्ने उद्देश्यले लिएका भने होइनन् । टाटाको सेयर पलोनजीको बुवाबाट परिवारमा भित्रिएको हो । 'पलोनजीका बुवा टाटा मोटर्स र स्टिलको कारखाना निर्माणको काम गर्थे,' एचडीएफसीका अध्यक्ष दीपक पारेकरले इन्डिया टुडेमा भनेका छन्, 'टाटासँग रकम नहुँदा मिस्त्रीले कम्पनीको सेयर पाउने गरेका थिए ।' बिस्तारै मिस्त्रीले टाटा समूहबाट बाहिरिन इच्छा देखाएका व्यक्तिको सेयर पनि खरिद गर्न थाले ।

केही वर्षअघिसम्म पलोनजी एसपीजी नामक ग्रुपका अध्यक्षका रूपमा कार्यरत थिए । साढे २ अर्ब डलर बरारबको यो कम्पनी अहिले उनको ठूलो छोरा सपुरको हातमा छ । यो ग्रुपले टेक्सटायल, घरजग्गा, होटललगायत क्षेत्रमा लगानी गरेको छ । गोरेगावको सडक किनारामा पैदल यात्रुका लागि बाटो बनाउने काम कम्पनीले सबैभन्दा पहिला पाएको थियो । उनको कम्पनी एसपीजीले केही प्रख्यात भवन निर्माण पनि गरेको छ । जसमा ताज महल प्यालेस -होटल) र ओबरोय होटल पनि पर्छ । २००८ मा दुवै भवनमा आतंकवादी हमला भएको थियो । यीबाहेक मुम्बई पुने एक्स्प्रेस वे, मुम्बई वल्ड टे्रड सेन्टर पनि उनकै कम्पनीले बनाएको हो । ओमानका सुल्तानको दरबार र घानाको राष्ट्रपति भवन पनि एसपीजीले नै निर्माण गरेको हो ।

पलोनजीले एसोसिएटेड सिमेन्ट कम्पनीको अध्यक्षका रूपमा पनि काम गरेका छन् । यस्ता कम्पनीको वाषिर्क साधारणसभा कार्यक्रममा मात्र उनी देखिने गरेका थिए । पछिल्लो समय पलोनजी विस्तार आफ्ना कम्पनीबाट टाढा हुन थालेका छन् । व्यवसायमा रहँदासमेत चर्चामा नरहने उनीबारे पछिल्लो समय पनि ज्यादै कम जानकारी बाहिर आउने गरेको छ । उनको जेठो छोरालाई ग्रुपको अध्यक्ष बनाएको चर्चा पनि सञ्चारमाध्यमले केही महिनापछि मात्र थाहा पाए ।

पलोनजीका कान्छा छोरा साइरसले बुवाकै कम्पनीमा कार्यकारी निर्देशकका रूपमा केही वर्ष काम गरेका थिए । २००६ को अन्त्यतिर साइरस टाटा सन्सको सञ्चालक समितिमा सदस्य भए । पलोनजीले टाटा सन्सको सञ्चालक समितिबाट बिदाइ लिएको एक वर्षपछि साइरस उक्त स्थानमा गएका थिए । नियुक्तिपछि उनले टाटा एलेक्सी र टाटा पावरमा निर्देशकका रूपमा काम गरेका थिए ।

२०१२ मा साइरसलाई टाटा सन्सको अध्यक्ष नियुक्त गरियो । अध्यक्षसहित उनले टाटा ग्रुपको प्रमुख व्यापारिक कम्पनी टाटा इन्डस्टि्रज, टाटा स्टिल, टाटा मोटर्स, टाटा कन्सलटेन्सी सर्भिसलगायत विभिन्न कम्पनीका अध्यक्षसमेत भए ।

No comments:

Post a Comment