Sunday, 25 January 2015

पुस्तकमा आयो जिउने काइदा

काठमाडौं–पछिल्लो समय नेपालीहरु स्वास्थ्य र जीवनप्रति लापरवाह हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै ‘जीवन जिउने काइदा' पुस्तकको विमोचन गरिएको छ। लेखक जीवन प्रसाईंले शनिबार चिकित्सक डा. अरुणा उप्रेतीलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तक सार्वजनिक भएको घोषणा गरे।

कार्यक्रमका सहजकर्ता नारायण वाग्लेले अहिलेसम्म प्रकाशित पुस्तक पढ्नका निम्ति मात्र हुने गरेकामा यो पुस्तकले भने पढ्नुका साथै पालना गर्नुपर्ने दबाबसमेत पाठकलाई दिने बताए। वाग्लेले त्यसपछि पुस्तकका लेखक प्रसाईं र चिकित्सक उप्रेतीसँग पुस्तक संवाद गरे।
‘पूर्वीय सभ्यताअन्तर्गत् हाम्रा पुर्खाले सम्पन्न जीवनशैली अपनाएको भए पनि त्यसलाई लिपिबद्ध गरिएको थिएन,' प्रसाईंले भने, ‘अहिले हराउँदै जानथालेको हाम्रो त्यही सम्पन्नतालाई पश्चिममा विकास भएको विज्ञानसँग जोड्ने काम मैले यस पुस्तकमा गरेको छु।'
औषधि विज्ञानमा विद्यावारिधि प्रसाईंले यसअघि आफू वा अरुहरुका समेत अनुसन्धानबाट प्राप्त जानकारीलाई स्वास्थ्य सम्बन्धी जर्नलहरुमा प्रकाशित गर्दै आएका थिए। 
‘अंग्रेजीमा क्लिष्ट भाषामा आएका तिनै जानकारीलाई मैले नेपाली पाठकका निम्ति सक्दो सजिलो हुनेगरी पुस्तक तयार पारिदिएको हुँ,' हाल अमेरिकाको अलाबामा युनिभर्सिटीमा अध्यापनरत प्रसाईंले भने, ‘परिवारको स्वास्थ्यप्रति चिन्तित गृहिणीदेखि लिएर यस क्षेत्रका अनुसन्धातासम्म सबैलाई काम लाग्ने विश्वास लिएको छु।'
विभिन्न खाद्यान्नमा गरिएका २ सय ५९ वटा अनुसन्धानमा आधारित छ पुस्तक। ‘यी कुराहरुको गुणबारे हामीले यसअघि पनि लेख्दै आएका हौं,' सामुदायिक स्वास्थ्यका क्षेत्रमा समर्पित र स्वयं पनि यस्ता आलेखहरु तयार पार्दैआएकी उप्रेतीले व्यंग्य गर्दै भनिन्, ‘विदेशीले भनेपछि मात्र पत्याउने हाम्रो समाजमा उतैको अनुसन्धानबाट पनि पुष्टि भएको भनेर पुस्तकले देखाएपछि अब चाहिँ पक्कै सबैले पालन गर्ने होलान्।'
डिल्लीबजारस्थित भोजनगृह र खेतीबजारले गरेको कार्यक्रममा प्रसाईं र उप्रेतीले आगामी पुस्तक संयुक्त लेखन गर्ने घोषणा गरे।
‘नेपालीहरुको वैभवशाली विगतलाई सम्झेरै मैले लामो समयदेखि यो स्थानमा प्राङ्गारिक अभियान चलाउँदै आएको छु,' आयोजक भरत बस्नेतले भने, ‘त्यो अभियानसँग मिल्दो पुस्तक विमोचनको आयोजना गर्न पाउँदा खुशी लागेको छ।'
नेपालयले प्रकाशन गरेको २४८ पृष्ठको पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ राखिएको छ।

No comments:

Post a Comment