Tuesday, 27 January 2015

१३ सयको मेसिनले बनायो करोडपति

सुनसरी । २४ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने
मेसिन बोकेर मोरङको दर्वेसाबाट
सुनसरीको इटहरी पसेका ४३ वर्षीय सुशील
महरा यतिवेला करोडका मालिक भएका छन् ।
सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानुुनपर्ने
मान्यता राख्ने महरा इटहरीका लागि मात्र
नभई मुलुकभरका बेरोजगार
युवाका निम्ति उदाहरणीय बनेका छन् ।
इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट
दक्षिणतर्फ इटहरी–विराटनगर
राजमार्गको पूर्वमा रहेको आकर्षण
वस्त्रालयअगाडि एउटा लुगा सिउने मेसिन लिएर
बसेका महरालाई काम थालेदेखि एक दिन
पनि खाली बस्नुपरेको छैन । उनी १७ वर्षको उमेरमै
विवाहबन्धनमा बाँधिई ०४७ मा १३
सयमा किनेको लुगा सिउने मेसिन बोकेर
इटहरी झरेका थिए ।
गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ
बिसनपुरबाट सेकेन्डह्यान्ड मेसिन खरिद
गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमै
मात्र खुलेका थिए । रेडिमेड कपडा पसल भर्खरै खुल्न
थालेका थिए । जिन्सका रेडिमेड कपडा बेच्ने पसल
धमाधम खुल्न थालेका थिए ।
इटहरी गएर केही फरक काम गर्ने सोच बनाएरै मेसिन
काँधमा बोकेर आएको उनी स्मरण गर्छन् ।
गाउँबाटै व्यापार गर्न
इटहरी आएका शुभकामना र भट्टराई
स्टोरका सञ्चालकको सुझाबमा सुरुबाटै जिन्स
पेन्ट फिटिङ, फुल फिटिङ,
उध्रिएका कपडा सिलाउनेलगायत काम
थालेको उनी बताउँछन् ।
जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे
अहिले पनि त्यहीँ (सडकपेटी) बसेरै व्यवसायलाई
निरन्तरता दिइरहेका छन् । महराले ०५२
देखि व्यावसायिक रूपमै जिन्स र कटन पेन्ट
तथा सर्टको फिटिङ थालेका थिए ।
सुरुमा एउटा पेन्ट फुल फिटिङ
गरेको ज्यालाबापत ३०
रुपैयाँ लिनेको गरेको उनी सम्झिन्छन् ।
त्यतिवेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७०
पुगेको छ । बजारमा चलेको फेसनअनुसार जिन्स
पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न
सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् ।
तर, अहिले महराको प्रगतिबाट प्रभावित भएर ३५
भन्दा बढी युवा इटहरी बजार
क्षेत्रका कपडा पसलअगाडि सडकपेटीमा बसेर
सिलाइ व्यवसाय गर्दै आएका छन् । उनीहरूले
पनि व्यवसायबाट राम्रोसँग घरपरिवार
पालेका छन् ।

No comments:

Post a Comment