काठमाडौं, माघ १६ । नक्कली लाइसेन्स बनाउने गिरोहका २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा काठमाडौका श्यामकृष्ण डंगोल र ललितपुरका रमेश नापित रहेका छन् । गिरोहमा रहेका अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
विगत ५ वर्षदेखियो गिरोहले नक्कली लाइसेन्स बनाउँदै आएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुले एउटा नक्कली लाइसेन्स बनाएबापत २० हजार रुपैयाँ लिने गरेको प्रहरीको बयानमा बताएका छन् । उनीहरुले एक दिनमा १२ ओटासम्म नक्कली लाइसेन्स बनाउने गरेको समेत बताएको प्रहरीले जनाएको छ ।
उनीहरुले मृत्यु भइसकेका व्यक्तिहरुको लाइसेन्स वा खारेज भएका लाइसेन्स नम्बरबाट नक्कली लाइसेन्स बनाउने गरेको प्रहरीले जनाएको छ ।
यस्तै, सक्कली लाइसेन्स नवीकरण गर्दा बुझाइने लाइसेन्सको स्टिकर निकालेर नक्कलीमा प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । यो धन्दामा यातायात व्यवस्था कार्यालयका कर्मचारीको समेत मिलेमतो हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
पक्राउ परेकाहरुबाट प्रहरीले नक्कली लाइसेन्स बनाउने प्रिन्टर १ थान, नक्कली लाइसेन्स बनाउने कार्ड ५२ थान र बनाइसकेका ३५ थान नक्कली लाइसेन्स बरामदसमेत गरेको छ ।
No comments:
Post a Comment