Friday, 23 January 2015

सहकार्यको भावना नटुटोस् भन्ने प्रयत्‍न छु: प्रधानमन्त्री (पूर्ण पाठसहित)

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधन गर्दै लोकतन्त्रका सहयात्री दलले मिलेर हाँसिल गरेका उपलब्धीलाई मिलेरनै संस्थागत गरौं भन्ने भावनालाई केही दलले कमजोरीको रुपमा लिएको बताए। उनले आपसि मेलमिलाप र सहकार्यको प्रयासलाई नछोडेको बताए। सहकार्यको भावना नटुटोस् भन्ने प्रयत्नमा आफू रहेको बताए।

प्रधानमन्त्री कोइरालाले सत्ता आफ्नो लागि गौण कुरा भएको बताए। उनले संविधानसभाबाट छिट्टै लोकतान्त्रीक संविधान जारी हुने बताए। मनमुटाव बढाएर देश र जनताको हित नहुने उनको भनाइ थियो। मुलुकले धान्न सक्ने र सामाजिक एकता कायम हुने गरी प्रदेश बनाउनु पर्ने उनको भनाई थियो। कोइरालाले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिए।

संविधानसभा माघ ५ सम्म आइपुग्दा शान्तिपूर्ण हुन नसकेकोमा दुख ब्यक्त गरे। विपक्षीको उत्तेजनात्मक कार्यले संविधानसभा अराजक भएको उनको धारणा थियो। यस्तो कार्यले जनताको आशा र विश्वासमा आघात पुगेको प्रधानमन्त्रीको धारणा थियो।

 

Last modified onFriday, 23 January 2015 20:12

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १

१) वर्तमान संविधानसभाको निर्वाचनका समयमा र निर्वाचन पछि सबै राजनीतिक दलहरुले एक बर्षभित्र नै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याउने प्रतिवद्धता व्यक्त गरेका थियौ। संविधानसभाले पनि दलहरुको भावनालाई आत्मसात गर्दै "साझा संकल्प"का रुपमा २०७१ म्ााघ ८ भित्रै संविधान निर्माणको कार्यतालिका पारित गरेको स्मरण गराउन चाहन्छु। यो प्रतिबद्धता अनुरुप हिजो माघ ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसक्नु पर्ने थियो।

२) संविधान निर्माणको कार्य नेपाल राष्ट्र, संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र राजनीतिक दलहरुको जिम्मेवारीसंग प्रत्यक्ष सम्बन्ध रहेको बिषय हो। तर पनि संविधान निर्माण जस्तो देश र जनताको भविष्यसंग गाँसिएको विषयलाई भरसक सहमतिमै सम्पन्न गर्नका लागि प्रधानमन्त्रीका रुपमा सबै दलहरुलाई नम्रतापूर्वक अनुरोध गर्दै आएको थिए। तर दुःखका साथ मैले भन्न्ु पर्दछ की सवै राजनीतिक दलहरुले माघ ८ गतेभित्र संविधान जारी गर्न लिएको "साझा संकल्प" केही राजनीतिक दलहरुका अस्वाभाविक अडान र लोकतान्त्रिक विधिको वेवास्ता गर्ने प्रवृत्तिका कारण संकटमा पर्न गएको छ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १

३) हामी सबैले लक्ष्य बनाएको माघ ८ गतेको दिनसम्म आईपुग्दा हाम्रो संविधानसभा शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधि र व्यवहारका अभ्यास गर्ने ठाउँ बन्न पाएन। दुर्भाग्यवश माघ ५ गतेको मध्य रात्रीदेखि संविधानसभा उत्तेजनात्मक गतिविधि,तोडफोड र अराजक व्यबहारको प्रदर्शनी बन्न पुग्यो। संविधानसभाभित्रकै केही राजनीतिक दलहरु मतभेदका विषयहरुमा अनेकन वैकल्पिक प्रस्ताव उपर छलफलमा केन्द्रित हुनुको साटो संविधानसभाबाट संविधान बन्न सक्दैन भन्ने राजनीतिक निष्कर्ष र मोर्चामा आबद्ध दलहरुसंग मिसिएर बन्द र हडतालको विकल्पतर्फ जादा संविधान निर्माणका प्रयासमा गम्भीर धक्का लाग्न पुग्यो।जनताका आशा र विश्वासमाथि लागेको यो चोटले मलाई मर्माहत तुल्याएको छ।

४) हामीले आपसी सहकार्य, समझदारी, एकता र मेलमिलापका आधारमा हुने सहमतिको प्रयासलाई अझै छाडेका छैनौ। संविधान निर्माणको विभिन्न चरणमा शान्तिपूर्ण जनआन्दोलनका सहयात्रीहरुबीचको सहकार्यको भावना नटुटोस् भन्ने हाम्रो सदासयता र प्रयत्न रही आएको छ। "मिलेर हासिल गरेका उपलब्धिलाई मिलेर नै संस्थागत गरौं" भन्ने हाम्रो भावनालाई कतिपय सहयात्री दलका नेताहरुले कमजोरीको रुपमा उपयोग गर्न खोज्नु भएको छ। जसका कारण संविधान निर्माणको कार्य अनिर्णय र अन्यौलको बन्दी हुन पुगेको छ। अब यस परिस्थितिको अन्त्य हुनु पर्दछ।

५) मलाई विश्वास छ ,जनताको मौलिक अधिकार,न्याय र स्वतन्त्रताको जग बलियो हुँदा मात्रै मुलुकको दिगो शान्ति र स्थिरता कायम हुन सक्दछ। नेपाल सदा बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो। यसको सामाजिक सद्भावमाथि कसैले पनि खेलबाड् गर्नु हुँदैन। आपसी सद्भाव, बन्धुत्वको भावना, सहिष्णुता र मेलमिलाप र सामञ्जस्यता कायम गरी राष्ट्र निर्माणमा समावेश हुनु पर्ने आजको आवश्यकता हो। त्यसैले मुलुकले आर्थिक रुपमा धान्न सक्ने,राष्ट्रिय एकतालाई मजबूत बनाउने, सामाजिक सद्भाव र सहिष्णुता कायम हुने लोकतान्त्रिक संविधान र संघीय प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो दृढ अडान पुनः दोहोर्याजउन चाहन्छु।

६) आउने संविधानमा समस्त महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अन्य अल्पसंख्यक,सीमान्तकृत र पिछडिएको वर्ग सहित सबै नेपालीलार्ई आफ्नो पहिचान, धर्म, संस्कृति, भेषभूषा, भाषा, परम्पराको संरक्षण र संबर्धन गर्ने स्वतन्त्रताको प्रत्याभूति हुनेछ। नयाँ संविधानको निर्माणमा आमजनताको सहभागिता सुनिश्चित गरिएको छ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १

७) लोकतान्त्रिक आधारशीलामा मात्र देशको राष्ट्रियता र राष्ट्रिय एकता संबर्द्धन गर्न सकिन्छ।लोकतान्त्रिक संस्थाहरुलाई सशक्त र मजबूत पार्दै सांस्कृतिक जगलाई सुदृढ बनाएर देशको प्राकृतिक र मानव संशाधनको अधिकतम उपयोग गरी मुलुकको चौतर्फी विकास गर्नुपर्ने बेलामा द्वेष, हिंसा र उत्तेजनालाई बढावा दिन उत्प्रेरित गर्ने कार्य हुनुलाई मैलेे दुर्भाग्यको रुपमा लिएको छु।

८) नेपाली जनताले प्रजातन्त्रको लागि लामो संघर्ष गरिसकेका छन। ६२/६३ को शान्तिपूर्ण जनआन्दोलनलाई हामीले राजनीतिक परिवर्तनका लागि अन्तिम आन्दोलन भनेका थियौ। राजनीतिक परिवर्तन पश्चात् मुलुकमा स्थायित्व र विकास होला, सुख र शान्ति पाइएला भन्ने जनताको आशालाई यथार्थमा रुपान्तरण गर्न हामीले लोकतान्त्रिक संविधान निर्माण गर्नै पर्ने अवस्था छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताहरुबाट ऊर्जा,पर्यटन,कृषि,उद्योग धन्दा,कलकारखाना र अन्य पूर्वाधार एवं उत्पादनका क्षेत्रमा व्यापक लगानी शुरु भइसकेको छ। चाडै नै ऊर्जा क्षेत्रको संकट समाधान हुने संभावनाका बीच आर्थिक विकासका गतिविधि तीब्र हुँदैगएका छन्। पूर्वाधारका क्षेत्रमा सरकारको लगानी समेत परिणाममुखी बन्दैछ। विकास चिठ्ठा परेर हुने होइन, बर्षौको निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ। अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनु हुँदैन।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु १

९) आपसी मनमुटाव बढाएर जनता र देशको हित हुदैन। यसले केवल विभाजन र विद्वेष पैदा गराउछ । जनता निराश हुने स्थिति आउन दिनुहुँदैन। जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ। यस कुरालाई ध्यानमा राख्दै मुलुकमा शान्ति,सुव्यवस्था,सुशासन,पारदर्शिता,भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहने सबैलाई म धन्यवाद दिन चाहन्छु।

१०) तसर्थ मेरो सबै राजनीतिक दलहरुसंग विनम्र अनुरोध छ, राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान निर्माण गरांै। सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरांै। जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन्। अवसरका कमीले रोजगारीको खोजीमा विदेशिन बाध्य भएका हाम्रा गतिशील र क्षमतावान लाखौ युवाहरुको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर माथि उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौ।

११) नेपाल सबैसंग मित्रता र सद्भाव राख्दछ। हाम्रा छिमेकी एवं सबै मित्र राष्ट्रहरुले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्दछौ। सबै मित्र राष्ट्रहरुसंग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडी बढाउने हाम्रो अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा गरेका छौ। नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति हाम्रो आफ्नो लोकतान्त्रिक अनुभव,अभ्यास र प्राथमिकतमा अघि बढ्छ र सुदृढ हुँदै जान्छ। यस यथार्थलाई बुझिदिनुहुन हाम्रा मित्रहरुमा विनम्र अनुरोध गर्दछु।नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता,लोकतन्त्र र विकासले हाम्रा छिमेकीहरु र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्नेछ भन्ने यथार्थतर्फ म हाम्रा मित्र राष्ट्रहरुको ध्यानाकर्षण गराउन चाहन्छु।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू १

१२) मुुलुकको भविष्य हाम्रो उद्देश्यको एकतामा निर्भर रहन्छ। संविधान एक राजनीतिक दस्तावेज पनि हो। यसमा तोकिएको सशोधनको प्रक्रियाबाट समय सापेक्ष जनआकांक्षा प्रतिविम्बित हुन्छ। त्यसकारण लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनाई मुलुकलाई लामो संक्रमणकालबाट जतिसक्दो चाँडो निकास दिनु अनिवार्य ठानेको छु।

१३) मेरो लक्ष्य लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु हो। सत्ता मेरो लागि गौण विषय हो। म संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छु।

१४) संविधान निर्माण गर्ने प्रयत्नमा हामी आज एउटा संवेदनशील मोडमा उभिएका छौं। म दृढतापूर्वक देश र जनतालाई आश्वस्त गराउन चाहन्छु,शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिको अबलम्बन गर्दै हामी देशमा चाडै नै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेछौ। नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकता सहित शान्त र संमृद्ध नेपाल निर्माण गर्न चाहान्छ। बहुसंख्यक नेपाली जनताको यो चाहनालाई हामी उग्र ,अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न दिने छैनौ भन्ने दृढता व्यक्त गर्न चाहन्छु। हाम्रो यस कार्यमा समस्त देशवासी र प्रवासी नेपालीहरुको व्यापक सहयोग र समर्थन रहनेमा म विश्वस्त

No comments:

Post a Comment