काठमाडौं-तीन महिनाअघि मलेसियामा डिभिजन ३ खेलिरहँदा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले ज्ञानेन्द्र मल्लको प्रशंसामा भनेका थिए, ‘ज्ञानेन्द्रको ब्याटिङका कारण नेपाली टोलीमाथि विश्वास गर्ने वातावरण बलियो हुँदैछ। उनको ब्याटिङले नेपाललाई डिभिजन ३ मात्र नभई डिभिजन २ बाट पनि अगाडि बढाउन सक्छ।'
सहायक प्रशिक्षकमा हाल टिमसँगै रहेका विनोदको भविष्यवाणी उपकप्तान ज्ञानेन्द्रको प्रदर्शनले नामिबियामा पूरा गर्ने संकेत देखाएको थियो। ब्याटबाट अपेक्षाभन्दा राम्रो प्रदर्शन हुँदा नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम समूह खेलमा शुक्रबार केन्याविरुद्ध १ सय ९४ रन बनायो। तर केन्याले १५ ओभरअघि नै लक्ष्य पूरा गरेपछि नेपाललाई डिभिजन १ को बाटो देखाउने ज्ञानेन्द्रको प्रयास सफल भएन।
नेपालले कुनैबेला विश्वकपको सेमिफाइनल खेलेको केन्यालाई ५ विकेटको नतिजा सुम्पिए पनि ज्ञानेन्द्रले १ सय १६ बल खेल्दै ९१ रन बनाए। ज्ञानेन्द्रको त्यही प्रदर्शनप्रेरित नेपाल केन्यामाथि विजय पाउँदै विश्व क्रिकेट लिग डिभिजन १ पुग्नेमा आशावादी थियो।
जारी प्रतियोगिताका ५ खेलमा उनको व्यक्तिगत स्कोर १ सय ८८ रन पुगिसकेको छ। प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा उनी चौथो नम्बरमा छन्। उनीभन्दा माथि नामिबियाका स्टेफन ब्राड र जेरहार्ड इरास्मस तथा केन्याका इरफान करिम छन्। ब्राडले २ सय ३६, इरास्मसले २ सय १६ तथा करिमले १ सय ९५ रन बनाएका छन्। ज्ञानेन्द्रपछि पाँचौं स्थानमा नेपालका कप्तान पारस खड्का र नेदरल्यान्ड्सका स्टेफन माइबर्ग छन्। दुई अर्धशतक बनाएका पारस र माइबर्गको कुल स्कोर १ सय ८५ रन छ। क्यानडाविरुद्ध बनाएको ७७ रन जारी प्रतियोगितामा पारसको उच्च स्कोर हो।
जारी प्रतियोगिताका पाँच इनिङ्समा ज्ञानेन्द्रले कुल ३ सय ७ बल खेल्दै ६१.२३ को स्ट्राइक रेट तथा ६२.६६ को औसतमा रन बनाएका थिए। त्यसमा कुल १५ चौका सामेल छ।
क्रिजमा सधैँ डटेर प्रस्तुत भए पनि ज्ञानेन्द्रमाथि ‘अन्डर पर्फमर' को दाग थियो। टिमलाई सफलता दिलाउन उनले जोडेको रन र गरेको साझेदारी सधँै महŒवपूर्ण रहने गर्छ। तर व्यक्तिगत स्कोर प्रायः ३० देखि ४० रनकै बीचमा अड्किँदा ज्ञानेन्द्र सधैं जस पाउनबाट वञ्चित थिए। शतक र अर्धशतक बनाउन चुक्दा उनको योगदान छायाँमा पर्थ्यो। टिम खेलको हिस्सा हुनुको फाइदा ज्ञानेन्द्रले पक्कै पाएका छन्। तर व्यक्तिगत रूपमा प्रदर्शनअनुसार चर्चा पाउनेमा भने उनी अभागी छन्, शतक वा अर्धशतकको आँकडा कमजोर भएका कारण।
नेपाली क्रिकेटमा असीमित ब्याटिङ क्षमताका उपकप्तान शुक्रबार फेरि यस्तै अवसरमा चुके। ब्याटिङक्रममा परिवर्तन हुँदा पाँचौं नम्बरमा खेलेका ज्ञानेन्द्रसामु ७.३ ओभरमा १८ रन बनाउँदा ३ विकेट गुमाइसकेको नेपाली इनिङ्स धान्ने जिम्मेवारी थियो। त्यसलाई उनले पूरा न्याय गरे। चौथो विकेटमा कप्तान पारस खड्कासँग २८ रनको साझेदारी गरेका उनले पाँचौं विकेटमा शरद भेषावकरसँग ६४ रन जोडे। छैटौं विकेटमा विनोद भण्डारीसँग ३३ रन थपेका उनले सातौं विकेटका लागि वसन्त रेग्मीसँग ४, आठौं विकेटमा सोमपाल कामीसँग १४, नवौं विकेटमा शक्ति गौचनसँग २८ रन जोडेका थिए। तर ९ रन थप्न नसक्दा उनी दोस्रो व्यक्तिगत शतक बनाउन चुके।
यसअघि उनले मलेसियामा डिभिजन ३ मा सिंगापुरविरुद्ध करिअरको पहिलो शतक बनाएका थिए। उनले सिंगापुरसँग १ सय १४ रन बनाउँदै अन्तर्राष्ट्रिय खेलजीवनमा शतकको खाता खोलेका थिए। तीन महिनाअघि त्यही प्रतियोगिताको फाइनलमा युगान्डाविरुद्ध ५६ रन बनाएका ज्ञानेन्द्रले त्यसयता शुक्रबार पहिलो अर्धशतक प्रहार गरे। कम रन बनिरहेको नामिबियाको मैदानमा ज्ञानेन्द्रले युगान्डासँग ६६ बल खेल्दै ३४ रन बनाएर प्रतियोगिताको सुरुआत गरेका थिए। १ सय ४७ रनको लक्ष्य पछ्याएको नेपाल २ रनले पराजित हुँदा ज्ञानेन्द्रले बनाएको ३४ रन उच्च स्कोर थियो। दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित पाउँदा ‘गोल्डेन डक' भए पनि क्यानाडालाई ७ विकेटले हराउँदा उनी जितको मुख्य नायक भए। एकै रन जोड्न नसक्दा दुवै ओपनर पवेलियन फर्किसकेको अवस्थामा ज्ञानेन्द्रले तेस्रो विकेटमा कप्तान पारससँग १ सय १२ रनको साझेदारी गरेका थिए। १ सय १५ रनको लक्ष्य पाएको नेपालबाट त्यो साझेदारी प्रभावशाली जित दिलाउन पर्याप्त थियो। अविजित ज्ञानेन्द्रले ३२ रन बनाउन ५१ बल खेलेका थिए। आयोजक नामिबियालाई ३ विकेटले निराश पार्दा ज्ञानेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै ७३ बलमा ३१ रन बनाए।
विनोदको भनाइ मान्ने हो भने ज्ञानेन्द्र नेपाली टोलीका राम्रा ब्याट्सम्यान हुन्। ‘पारस, शरद, ज्ञानेन्द्र सबै राम्रा ब्याट्सम्यान हुन, त्यसमा ज्ञानेन्द्र सबैभन्दा निपूण छन्,' विनोदले नागरिकसँग भनेका थिए।
विनोद कप्तान रहँदा ज्ञानेन्द्र सन् २००५ मा मलेसियाविरुद्ध एसिसी फास्ट ट्र्याक कन्ट्रिज तीनदिवसीय खेलमार्फत नेपाली टोलीमा छिरेका थिए। तर उनले डेब्युका लागि थप एक वर्ष कुर्नुपर्योट। मलेसियामा सम्पन्न २००६ को एसिसी ट्रफीमा कुवेतविरुद्ध खेल्दै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन्। पहिलो खेलमै ७८ रन बनाएका ज्ञानेन्द्रले भुटानविरुद्ध दोस्रो खेलमा ५२ रन बनाएका थिए। पहिलो दुई अन्तर्राष्ट्रिय खेलमा लगातार अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी हुन्।
No comments:
Post a Comment