काठमाडौं– नयाँ संविधान जारी गर्ने पूर्व निर्धारित मिति माघ ८ को सम्भावित दंगलाई ध्यानमा राख्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ। माघ ८ मा हुनसक्ने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले राजधानीमा प्रदर्शनकारीलाई राख्ने ठाउँको जोहो गर्न थालेको छ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला सुरक्षा समितिले माघ ८ मा बिरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै प्रहरी गण र केही सार्वजनिक स्थान खाली गराउने गृहकार्य थालेको हो। सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर प्रहरी गण, महेन्द्र पुलिस क्लब तथा सहकारी विभागमा मानिसलाई राख्नेगरी तयारी भएको स्रोतले बतायो।
'संभावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर केही स्थानलाई खाली गराउने विषयमा गृहकार्य थालिएको हो,'स्रोतले भन्यो,'त्यसका लागि जिल्ला सुरक्षा समितिले आफ्नो काम गरिरहेको छ।'
काठमाडौंको हकमा ठूलै विरोध हुने आँकलन गर्दै काठमडौं उपत्यकामा रहेको प्रहरी गण, महेन्द्र पुलिस क्लब तथा नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा पक्राउ परेका प्रशर्दनकारीलाई राख्ने तयारी गरिएको हो। 'प्रदर्शनकारीलाई पक्राउ गरेर मात्र हुँदैन,' स्रोतले भन्यो,' उनीहरुलाई राख्ने ठाउँ र खान दिने प्रबन्ध पनि त गर्नुपर्यो ।'
स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीस जिल्ला सुरक्षा समिति गठन गर्नसक्ने अधिकार दिएको छ। जसअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सहायक प्रजिअ सदस्य सचिव र जिल्लास्थित चारवटा सुरक्षा निकायका प्रमुख सदस्य रहने प्रावधान छ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले प्रदर्शनकारीलाई थुन्नै भनेर कुनै पनि ठाउँ खाली नगराएको तर सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर केही ठाउँको अध्ययन भएको हुनसक्ने बताए । 'त्यो काम गर्ने जिम्मा जिल्ला सुरक्षा समितिको हो,' ढकालले नागरिकन्युजसँग भने।
प्रमुख दलहरुबीच संविधानका अन्र्तवस्तुमा सहमति नहुँदा संविधान जारी गर्ने प्रक्रियाका विषयमा विवाद छ। सत्तारुढ दलले सहमति नभए प्रक्रियामा गएर भएपनि संधिवान जारी गर्नुपर्ने भन्दै प्रक्रिया अगाडि बढाउन सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन्। एकीकृत माओवादीलगायतका विपक्षी दलहरुले भने सहमति बिना जारी गरिने संविधान स्वीकार्न नसकिने भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेछन्।
जिल्ला सुरक्षा समितिले सोही कुरालाई मध्यनजर गर्दै प्रदर्शनकारीलाई थुन्न केही ठाउँ खाली गर्न गृहकार्य थालेको हो।
No comments:
Post a Comment