Tuesday, 13 January 2015

दैनिक ११ करोडका बाइक

काठमाडौं-मध्यम वर्गका लागि आवश्यकीय साधन
बनेको मोटरसाइकल दैनिक झन्डै ११ करोड
रुपैयाँ हाराहारीको बिक्री हुने गरेको छ।
मुलुकभर दैनिक औसत ६ सय २६ वटा विभिन्न
ब्रान्डका स्कुटी र मोटरसाइकल बिक्री हुने
गरेका छन्। एउटा मोटरसाइकलको मूल्य एक लाख ७५ हजार रुपैयाँ राख्दा दैनिक
बिक्री झन्डै ११ करोड रुपैयाँ पुग्छ।
यही तथ्यांकलाई वार्षिक रुपमा गणना गर्ने हो भने करिब ४०
अर्ब रुपैयाँको मोटरसाइकल बिक्री वितरण हुने गरेको देखिन्छ।
सरकारले सवारी साधनबाट दुई सय ४० प्रतिशतसम्म कर
लिन्छ।
यातायात व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार
महिनामा ७५ हजार १ सय २३ वटा स्कुटी र मोटरसाइकल
नेपाल भित्रिएका छन्। यही तथ्यांकअनुसार प्रतिदिन ६ सय
२६ वटा स्कुटी तथा मोटरसाइकल नेपालमा आयात भई
बिक्री वितरण हुने गरेको देखिन्छ।
विभागका अनुसार स्कुटी तथा मोटरसाइकलको हिस्सा सम्पूर्ण
सवारी साधन आयातको ८५ प्रतिशत हुन जान्छ। चालु
आवको चार महिनामा ८७ हजार ७ सय ५४ वटा सवारी साधन
आयात भएका छन्। जसमा ७५ हजार १ सय २३ वटा स्कुटी र
मोटरसाइकल छन्।
मध्यम वर्गको रोजाइमा परेको मोटरसाइकल मात्र होइन
नेपालको हकमा विलासी मानिने कार, जिप र
भ्यानको बिक्री संख्या पनि प्रत्येक दिन ३७ पुगेको छ।
एउटा कारको न्यूनतम मूल्य २५ लाख रुपैयाँ राख्ने हो भने दैनिक ९ करोड २५
लाख रुपैयाँ बराबर यसको कारोबार हुने गरेको छ।
मोटरसाइकलपछि सबैभन्दा धेरै बिक्री हुने कार, जिप, भ्यान
चार महिनामा ४ हजार ४ सय ६० वटा आयात भएका छन्।
व्यवसायीका अनुसार रेमिटेन्सबाट आएको पैसाका कारण
मोटरसाइकलको प्रयोग वर्षेनी बढ्दै गएको हो। यस्तै
फस्टाउँदै गएको निजी क्षेत्र र उच्चमध्यम वर्गको पहुँच
पनि कार, भ्यान, जिप खरिदसम्म पुगेकाले
यसको बिक्री बढेको हो। बैंक तथा वित्तीय
संस्था जस्ता निजी क्षेत्रमा काम गर्ने कर्मचारी,
वैदेशिक रोजगार, रेमिटेन्स, स्कुल तथा कलेज खोल्ने व्यवसायी,
कन्सलटेन्सी र वकिल, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट,
पत्रकारजस्ता पेसाकर्मीको पहुँच
पनि सवारी साधनमा पुगेकाले यसको आयात र बिक्र बढेको हो।
विभागका अनुसार कृषिप्रधान देशलाई आवश्यक पर्ने ट्याक्टर र पावर
टिलरको आयात भने ३ हजार २ सय ५२ मात्र पुगेको छ। तराईमा प्रचलित
ट्याक्टर प्रयोग अहिले पहाडी क्षेत्रमा पनि बिस्तार हुँदै
गएको छ।
त्यस्तै पिकअप भ्यान २ हजार १ सय ६३, बस १ हजार १ सय ५५,
क्रेन, डोजर, एस्काभेटर ९ सय ५९, मिनिबस र मिनिट्रक ५ सय १६,
माइक्रो ९३, अन्य २७ आयात भएका छन्। यस अवधिमा सबैभन्दा कम टेम्पो ६
वटामात्र आयात भएका छन्।
विभागको तथ्यांकअनुसार यो चार महिनामा अघिल्लो आर्थिक
वर्षको पहिलो चार महिनाभन्दा गाडीको आयात घटेको छ।
अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्मा ९२ हजार ३ सय ६९
वटा गाडी आयात भएको थियो। उक्त संख्या यो वर्ष चार
महिनाको भन्दा ४ हजार ६ सय १५ ले कम हो।
व्यवसायी पनि चार महिनामा अटोको व्यापार बढेको बताउँछन्।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)का महासचिव
गोपी न्यौपानेले यो अवधिमा १० प्रतिशतले व्यापार बढेको बताए।
‘यो अवधीमा गाडीको व्यापार बढेको छ,' न्यौपानेले
भने, ‘यसबीचमा धेरै गतिविधि भएका छन्।'
अटोमोबाइल्सको लागि बैंकको सुविधाले व्यापार बढेको उनको विश्वास छ। बैंकले
गाडीको लागि लगभग ८ प्रतिशत ब्याजदरमा ऋण दिने गरेका छन्।
बैंकबाट पाएको यो सुविधाले गाडीको व्यापार बढेको उनले बताए।
त्यस्तै यो चार महिनाको अवधिमा सार्क शिखर सम्मेलन सम्पन्न भएको छ।
यो बेला भएको सडक विस्तारले पनि अटो मोबाइल्सलाई फाइदा पुगेको छ।
‘बाटो विस्तारले गाडीको व्यापार बढेको छ,' न्यौपानेले भने। अहिले
काठमाडौंसँगै देशका विभिन्न ठाउँमा बाटो विस्तारको काम भइहरको छ। यसले
सहरदेखि गाउँसम्म गाडी चढ्ने रहर बढाएको छ।
अटोमोबाइल्सको व्यापार बढाउनको लागि सडक बिस्तार पहिलो सर्त
भएको व्यवसायीले बताउँदै आएका छन्। सहर बजारको सडक
बिस्तारले साना गाडी कार, जिपको बिक्री बढेको छ
भने ग्रामीण भेगको सडक विस्तारले भ्यान, माइक्रो, बस र
मोटरसाइकलको माग बढाउन व्यवसायीको भनाइ छ।
पछिल्लो समय दुर्गम गाउँसम्म विस्तार भएका कृषि र अन्य सडकले
पनि दुईपांगेको प्रयोग बढाएको छ। विदेशको रोजगारीले
आम्दानीको स्तर बढेकै बेला गाउँमा सडक
पनि पुगेपछि मोटरसाइकलप्रति सर्वसाधारण आकर्षित हुन थालेका हुन्।
मोटरसाइकलको बिक्री बढाउन यसले पनि योगदान गरेको छ।
यसबीचमै परेको दसैं तिहार र अटो सोले
व्यापारमा टेवा पुगेको न्यौपानेले बताए। दसैं, तिहार लक्षित उपहार योजना,
विभिन्न स्किमले गाडीको व्यापार बढायो भने यसै
अवसरमा गरिएको ‘अटो सो'मा बुकिङ गर्ने र
गाडी किन्नेको संख्या बढेको थियो। अटो सो र दसैं,
तिहारको बेला वार्षिक व्यापारको ४० प्रतिशत कारोबार हुने
व्यवसायी बताउँछन्।
न्यौपानेका अनुसार गत पाँच महिनाको अवधिमा अटोमोबाइल क्षेत्रले २१ अर्ब
रुपैयाँ राजस्व तिरेको छ। यो अन्य क्षेत्रको भन्दा धेरै भएको उनले बताए।

No comments:

Post a Comment