-विष्णु रिजाल
धेरै भएको छैन– एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल
दाहाल ‘दिने’ अवस्थामा हुनुहुन्थ्यो भने कांग्रेस–एमालेका नेताहरु
‘माग्ने’ अवस्थामा । तर, आज समयको चक्का बदलिएको छः कांग्रेस–एमाले ‘दिने’
अवस्थामा छन् भने दाहाल ‘माग्ने’ अवस्थामा पुग्नुभएको छ । झट्ट
सुन्दा नमिठाे लाग्न सक्छ । तर, केही निकट
अतीतका घटनाले यस्तो निष्कर्षमा पुग्न बाध्य बनाउँछन् ।
०६४ सालको संविधानसभाको निर्वाचन धेरैका लागि अकल्पनीय थियो,
स्वयम् माओवादीका लागि पनि ।
तुष्टीकरणका लागि दुई चार दिन ‘माओवादीले
हतियारका त्रास देखाएर जित्यो’ भने पनि कांग्रेस (११३) र एमाले (१०९)
का जम्मै सभासद् संख्या जोड्दा पनि एमाओवादी (२४०)
को जति संख्या पुग्दैनथ्यो । त्यस्तो बेलामा स्वाभाविक रुपमा सत्ता र
संविधानको चावी पुष्पकमल
दाहालको गोजीमा थियो । तर,
राजनीतिको चावी चाहिँ उहाँसँग थिएन ।
ठूलो पार्टी बन्नासाथ दाहाले एकैपटक दुईटा खेल सुरु गर्नुभयो,
जुन उहाँका लागि निकै महंगा सावित भए ।
पहिलो, गणतन्त्र आउने/नआउने निश्चित नहुँदै पुष्पकमल दाहालले
‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईं नै हो’ भनेर गिरिजाप्रसाद
कोइरालालाई आश्वासन दिनुभएको थियो । सत्ताभन्दा एक हात पनि पर सोच्न
नसक्ने कोइरालालाई गणतन्त्रमा जानका लागि यस बुटीले ठूलो काम
गरेको थियो । तर, त्यसअघि नै दाहालले भग्न भित्ताहरुमा ‘गणतन्त्र
नेपालका पहिला राष्ट्रपति कमरेड प्रचण्डलाई लालसलाम’ भन्दै रंग्याउन
लगाइसक्नुभएको थियो । जब साँच्चै गणतन्त्र आयो, तब कसैले उहाँका कान
भ¥यो, ‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनायो भने शक्तिका दुई केन्द्र
हुन्छन्, तपाईं छायाँमा पर्नुहुन्छ ।’
त्यसपछि कोइरालालको कानमा गुञ्जिरहेको आश्वासन दाहालले पूरै
भुल्नुभयो र ‘दुई तिहाई कम्युनिस्टहरु
भएको मुलुकमा कसरी बुर्जुवालाई राष्ट्रप्रमुख बनाउन
सकिन्छ ?’ भन्ने तर्क अघि सार्नुभयो ।
दोस्रो, यही सेरोफेरोमा नेकपा (एमाले) सँग सम्वाद सुरु भयो ।
पार्टीले अनपेक्षित हार ब्यहोरेपछि विरक्तिँदै
राजीनामा दिएर बसेका माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने भन्दै
वाम एकताको चर्चा सुरु भयो । एमाओवादी र
एमालेका बीचमा पटकपटक वार्ता भए, माधव नेपाललाई
राष्ट्रपति बनाउने, पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने
गरी चारवटा दस्तावेज तयार भए । पूरै अवधि सरकार चल्न दिने
सहमति पनि भयो । यसबाट खुसी भएका एमाले अध्यक्ष
झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल एक राति १० बजे नयाँबजारस्थित
दाहाल निवास पुग्दा दाहाल व्यस्त हुनुहुन्थ्यो । बाहिर कुर्दै
गर्दा एकजना सेतै कपाल फुलेका व्यक्ति निस्किए र आफ्नो बाटो लागे ।
ती थिए, भारतीय गुप्तचर
संस्था ‘र’का तत्कालीन काठमाण्डु स्टेसन प्रमुख आलोक
जोशी । त्यसपछि परिस्थिति एकाएक भाँडियो र एमालेलाई
राष्ट्रपति दिन नसक्ने जानकारी दाहालले एमाले
टोलीलाई दिनुभयो । यसमा सबभन्दा ठूलो भूमिका बाबुराम भट्टराईले
निर्वाह गर्नुभएको थियो । एकाएक कुनै दुलाबाट रामराजाप्रसाद सिंह नामक
रहस्यमय पात्र प्रकट भए र एमाओवादीले
राजनीतिक हारको शृंखला त्यही दिनबाट सुरु
भयो ।
त्यसपछि वागमतीमा धेरै फोहोर
पानी बगिसकेको छ । परिणाम के–के भयो ? दाहाल स्वयम्
भुक्तभोगी हुनुहुन्छ । पहिला जसले उहाँलाई एमालेसँग
नमिल्न उचाले, पछि तिनैले सेनापति प्रकरणमा के भूमिका खेले, उहाँका विरुद्ध
बाबुराम भट्टराईलाई कसरी उचाले, सातपटक उहाँले
हार्दा पनि मतदान नगर्ने मधेसी दलहरु
बाबुरामका लागि कसरी रातारात सहमतिमा आइपुगे ?
यी सबै घटनाहरु पुराना भएका छैनन् ।
अहिले संविधान निर्माणको बहस चलिरहेको छ ।
एमाओवादी चाहन्छ, माघ ८ मा संविधान नआओस् ।
त्यसो गर्नुका दुई कारण छन्ः पहिलो, त्यसो हुँदा दुई तिहाईका हुँकार गर्ने
कांग्रेस–एमालेको सेखी झर्छ र दुई तिहाई भए
पनि सहमतिबिना संविधान आउन सक्दैन भन्ने आम बुझाइ बढ्छ । दोस्रो, माघ
८ पछि एमालेले निहुँ खोज्छ र सरकार
परिवर्तनको मुद्दा अघि आउँदा आफ्नो भूमिका बढ्छ । यसपटक संविधान नै
नबनोस् भन्ने माओवादी चाहन्छ जस्तो लाग्दैन । तर,
राजनीतिक दाउपेचका कारणमा माघ ८ मा चाहिं ऊ संविधान बन्न
दिन चाहँदैन भन्ने कुरा स्पष्ट भइसकेको छ ।
संविधानको खाका मोटामोटी तय छ । शासकीय
स्वरुपमा दलहरु सहमति नजिक छन् ।
संघीयतामा पनि सैद्धान्तिक रुपमा विमति छैन । प्रदेश संख्या र
नाममा पनि एउटा बीचको बाटो नजिक छ । तर, मुख्य
कुरा नेताहरुले संविधान आएपछिको राजनीतिक
जोडघटाउमा बढी ध्यान दिइरहेका छन् । सुशील
कोइरालाले शीतल निवासतिर आँखा लगाएका छन्,
केपी ओली वालुवाटार छिर्ने हतारमा छन् ।
यस्तो बेलामा पुष्पकमल दाहालले तिनीहरुलाई सजिलो हुने
गरी मार्गप्रशस्त गर्न चाहनुभएको छैन ।
सबभन्दा गाँठी कुरा यही छ ।
वास्तवमा यतिबेला पुष्पकमल दाहाल क्रसरोडमा उभिनुभएको छ । साढे दुई
दशक एकछत्र नेतृत्व गरेपछि आफैँ ‘अब पुग्यो’ भनेर
अर्को बर्षदेखि पार्टीको नेतृत्व छोड्ने घोषणा गर्नुभएको छ ।
यस हिसाबले एमाओवादीमा पनि उहाँको यो ‘क्लाइमेक्स’ हो ।
अनि यति नै संख्या र शक्तिले राष्ट्रिय राजनीतिमा निर्णायक
धक्का दिन असम्भव छ भन्ने पनि उहाँले बुझ्नुभएको छ ।
भूमिगतकालमा मानिसहरुलाई उत्साहित र प्रभावित गर्नका लागि ‘कुनै
पदमा बस्दैनौँ, गान्धी बन्छौँ’ भन्न जति सजिलो थियो,
शक्ति हातमा भएन भने के हुन्छ भन्ने
राम्ररी बुझेका दाहाललाई शक्ति छोड्न त्यति सजिलो छैन ।
राजनीतिमा सबभन्दा ठूलो चीज भनेको बन्दुक र
पैसा हो भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिने नेतालाई
त्यसको अभावको कल्पनाले पनि तर्साउनु स्वाभाविकै हुन्छ ।
यस्तो अवस्थामा दाहालले संविधान
बनेपछिको व्यवस्थापनमा बढी ध्यान दिएको प्रतीत
भइरहेको छ । त्यसका लागि कांग्रेस र एमालेको गठबन्धन टुटाउन आवश्यक
हुन्छ । दीर्घकालीन
प्रतिस्पर्धी रहेका ती दुई दललाई दुई
ध्रुवमा नपु¥याएसम्म दाहालले चाहेर पनि कुनै निर्णायक गोल गर्न
सक्नुहुन्न । सम्भवतः त्यसैले हुन सक्छ, भित्रभित्रै संविधान
बनेपछि कांग्रेससँग मिल्ने
गरी केही खिचडी पाकिरहेको पनि सुनिन्छ
। एमाओवादीलाई पनि एमालेको आकार घटाउन सक्दा मात्रै आफूलाई
फाइदा हुन्छ भन्ने लागेको छ भने कांग्रेसलाई पनि सशक्त
प्रतिस्पर्धी एमालेलाई साइजमा ल्याउन सक्दा मात्रै अर्को चुनाव
सहज हुन्छ भन्ने लागेको छ ।
कुनैबेला एमालेको सार्वजनिक रुपमै एमालेको लिंग सोधेर हैरान पार्ने बाबुराम
भट्टराईहरुको बोली बन्द हुने गरी एमाले
अध्यक्ष केपी ओलीले राखेको अडानबाट
दुबैथरी त्रस्त भएको अनुमान सहजै गर्न सकिन्छ ।
यस्तो अवस्थामा भावी सत्ताको खेल नयाँ हिसाबले
अघि नजाला भन्न सकिन्न ।
Saturday, 10 January 2015
प्रचण्ड निवासबाट सेतै कपाल फुलेका मानिस निस्किएका दिनदेखि सुरु भएको थियो माओवादीको पराजय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment