Thursday, 8 January 2015

निगमलाई माघ २३ मा एयरबसको जहाज

काठमाडौं- नेपाल वायुसेवा निगमले युरोपेली जहाज
निर्माता कम्पनी एयरबसँग खरिद गरेका दुईमध्ये
पहिलो जहाज आगामी माघ २३ मा निगमलाई हस्तान्तरण
हुने भएको छ। अहिले यो जहाजको निर्माण कार्य अन्तिम
चरणमा पुगेको छ।
एयरबसले निगमलाई माघ २३
मा जर्मनीको ह्यामबर्गमा जहाज हस्तान्तरण गर्ने छ।
लगत्तै त्यहाँबाट जहाज कतारको दोहा हुँदै माघ २४
मा काठमाडौं आइपुग्ने निगमले जनाएको छ। उक्त जहाजमा आठ बिजनेस क्लास
र १ सय ५० इकोनोमी क्लास सिट रहनेछन्।
निगमका अनुसार उक्त जहाजको परीक्षण उडान सन् २०१५
जनवरीको अन्तिम (आगामी माघ दोस्रो साताभित्र)
गर्ने तालिका एयरबसले बनाएको छ। त्यसैअनुरूप अहिलेसम्म निर्धारित
कार्यतालिकाबाट जहाज निर्माण भइरहेको छ।
पहिलो जहाज आएपछि एयरबसले दोस्रो जहाज अप्रिल (चैत
दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र) काठमाडौं पठाउने
जानकारी दिएको निगमले जनाएको छ। दुवै जहाजमा इन्टरनेसनल
एरोइन्जिन कम्पनीबाट उत्पादित इन्जिन जडान गरिनेछन्।
निगमले २०७० असार १३ मा एयरबससँग दुईवटा जहाज खरिद
सम्झौता गरेको थियो। एयरबससँग सम्झौता हुनअघि जेठ २९ मा सञ्चय
कोषसँग १० अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको थियो।
निगम व्यवस्थापनका अनुसार हालसम्म एयरबसलाई चार किस्तामा ४ अर्ब
रुपैयाँ पठाइसकेको छ। दुई जहाजका लागि एयरबसलाई २०७० असार ३१
मा पहिलो र दोस्रो किस्ता, त्यसपछि साउन १७ र असोज १५
मा तेस्रो किस्ता तथा माघ २० र चैत १८ मा चौथो किस्ता पठाइएको थियो।
एयरबसलाई पहिलो चरणमा कुल मूल्यको करिब ३० प्रतिशत
तथा बाँकी जहाज आउनु तीन
महिनाअघि चुक्ता गर्नुपर्ने सर्त छ। आन्तरिक ऋणदातालाई भने जहाज
सञ्चालनमा आएपछि तीन–तीन महिने
किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता भएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा 'न्यारो बडी'
जहाज खरिद गर्न कोषले १० अर्ब रुपैयाँ ऋण दिन सम्झौता गरिसकेको छ।
उसले १० अर्ब ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको छ भने
चुक्ता अवधि १५ वर्ष राखेको छ।

No comments:

Post a Comment