काठमाडौ, पुस २३ - सरकारले नियमन र अनुगमन
नगरी खुला छाडिदिएको कमोडिटिज बजारमा सेयरको समेत
गैरकानुनी कारोबार हुन थालेको छ। नेपाल स्टक
एक्सचेन्जमा सूचीकृत ८
वटा कम्पनीको सेयरलाई आधार बनाएर 'कन्ट्राक्ट' को रूप दिई
एक एक्सचेन्जले यस्तो कारोबार गराउन थालेको हो।
सूचीकृत कम्पनीको सेयर मूल्य
भविष्यमा घट्छ वा बढ्छ भन्ने अनुमानसहित नयाँ कन्ट्राक्टबाट कारोबार
भइरहेको छ। न्यूनतम एक लाख रुपैयाँ खातामा जम्मा गरेपछि यस्तो कारोबार
लगानीकर्तालाई गराउन थालिएको छ।
एभरेस्ट कमोडिटिज एक्सचेन्ज -ईसीएक्स) ले
आफ्ना सदस्य मार्फत यस्तो कारोबार गराइरहेको हो।
सूचीकृत कम्पनीको मूल्य सेयर बजारबाट लिएर
त्यसलाई 'फ्युचर्स' मा रूपान्तरित गर्दै कारोबार हुने गरेको छ। प्राविधिक
रूपमा 'सीपीएफ' नामकरण
गरी कारोबार हुन थालेको हो। जसमा २ वटा हाइड्रो पावर
कम्पनी र ६ वटा वाणिज्य बैंकको सेयरमाथि कारोबार हुने
गर्छ।
सामान्यतया सुन, चाँदी, तेलसहित कृषिजन्य उपजको कारोबार
संसारभरका कमोडिटिज बजारमा हुन्छ। तर त्यसभन्दा अघि सरेर
नेपालको एक्सचेन्जले सेयरकै कारोबार थालिदिएको छ।
जसबारे सेयर बजार नियामक धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले
पत्तो पाएका छैनन्। नियमन नभएकाले लगानीकर्ता झुक्किने
वा ठगिने सम्भावना
बढेको छ।
धितोपत्र बोर्डबाट भएको एक अध्ययनले कमोडिटिज एक्सचेन्जबाट
सर्वसाधारण ठगिएको र गैरकानुनी काम
भएको पुष्टि भएपछि सरकारले दुई
वर्षअघि नियमनको तयारी गरेको थियो। नियमन नभएसम्म
धितोपत्र बोर्डलाई कमोडिटिज कारोबार 'नजिकबाट हेर्न' पनि भनिएको थियो।
तर दुई वर्ष बितिसक्दा पनि अनुगमन र नियमन हुन सकेको छैन।
कारोबारबारे एक्सचेन्जसँग प्रतिक्रिया लिन सकिएन। कम्पनीले
वेबसाइटमा उपलब्ध गराएको नम्बरमा सम्पर्क हुन नसकेको हो।
इमेलमार्फत सम्पर्कको प्रयास गर्दा पनि समाचार लेख्दासम्म
प्रतिक्रिया आएको छैन। तर एक्सचेन्जका सदस्यले भने कारोबार
गैरकानुनी नभएको तर्क गरे।
'यो गैरकानुनी होइन' ग्राहक बनेर
ईसीएक्सको सदस्य ग्लोबेक्स कमोडिटिज एन्ड डेरिभेटिभ
सर्भिसेजसँग कुरा गर्दा प्रतिनिधिले भने, 'सेयर बजारकै अनलाइनबाट मूल्य
लिने हो र त्यसलाई फ्युचर्समा रूपान्तरित गर्ने हो।'
उक्त प्रतिनिधिका अनुसार न्यूनतम एक लाख
रुपैयाँ खातामा जम्मा गरेपछि कारोबार गर्न सकिन्छ। एक
महिना समयको यस्तो कन्ट्राक्टमा 'इन्ट्र डे' कारोबारसमेत गर्न सकिने
उनले बताए। इन्ट्रा डे कारोबारमा एकै दिन खरिद-बिक्री गर्न
सकिन्छ। 'सुन, चाँदीजस्तो अन्तर्राष्ट्रिय बजारको असर
हुँदैन,' उनले भने, 'नेपालकै बजार हो, नेप्सेेकै मूल्य लिएर
चलाइरहेका छौं।' उनका अनुसार पछिल्लो समय यस्तो कारोबारमा आकर्षण
बढ्न थालेको छ। वास्तविक सेयर कारोबारका लागि ब्रोकरको कार्यालय पुग्नु परे
पनि कमोडिटिजले भने घरमै बसेर सबै काम गर्न सक्ने वातावरण छ।
एक्सचेन्जले तोकिदिएको बैंकमा रकम जम्मा गरेपछि घरमै बसेर खरिद-
बिक्री गर्न सकिन्छ। कति लगानीकर्ता र
रकमको कारोबार भइरहेको छ भन्ने जानकारी कुनै
सरकारी
निकायलाई छैन।
स्टक एक्सचेन्जमा सूचीकृत
कम्पनीको ब्रोकरमार्फत वास्तविक कारोबार गर्दा प्रमाणपत्र
पाइन्छ। पछिल्लो समय अभौतिक प्रमाणपत्र उपलब्ध गराउन थालिएको छ।
तर कमोडिटिज एक्सचेन्जमार्फत कारोबार गर्दा भने सेयरको कुनै
पनि प्रमाणपत्र पाइने होइन। यस्तो खरिद गर्दा कुनै
कम्पनीको सेयर धनी पनि भइँदैन।
नेपालमा भइरहेको कमोडिटिजको कारोबार भविष्यमा हुन सक्ने
उतारचढावको अनुमान गरिने सट्टेबाजी
मात्र हो।
हाल ईसीएक्सका ८ सदस्य छन्। जसमार्फत
यस्तो कारोबार भइरहेको एक लगानीकर्ताले बताए। 'सबै
सदस्यले यस्तो कारोबार गरिरहेका छन्,' कमोडिटिजमार्फत सेयर खरिद-
बिक्री गरेका एक लगानीकर्ताले भने,
'गैरकानुनी हो भन्ने थाहा पाएपछि मैले छाडिदिएँ।'
उनका अनुसार नेप्सेको मूल्यमा एक प्रतिशत तलमाथिसम्म मूल्य हुने
गरी कारोबार गरिन्छ। 'बुटवल पावर कम्पनी,
चिलिमे हाइड्रो, सानिमा, एनएमबी, हिमालयन, नबिल,
एभरेस्टलगायतका बैंकको सेयरमाथि कारोबार हुने गरेको छ,'
ती लगानीकर्ताले भने, 'पछिल्लो समय
यस्तो कारोबार बढ्दै
गएको छ।'
मुलुकमा करिब १० वटा कमोडिटिज एक्सचेन्ज सञ्चालनमा छन्। तर कुन-कुन
एक्सचेन्जले कारोबार गरिरहेका छन् भन्ने तथ्यांक कुनै
सरकारी कार्यालयसँग छैन।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको आधारमा सबैले
कारोबार गर्न पाएका छन्। कमोडिटिज एक्सचेन्जले
आफूखुसी मूल्य राखेर सुन, चाँदी,
कच्चा तेललगायतको सट्टेबाजी गराउँदै आएका छन्।
सर्वसाधारणको रकमको कारोबार गराउने
यी एक्सचेन्जको पुँजी पनि फरक-फरक छ।
कमोडिटिज एक्सचेन्जमा कारोबार गर्दा ठगिए पनि गुनासो गर्ने निकाय छैन। दुई
वर्षअघि भएको अध्ययनले कमोडिटिज एक्सचेन्जले
आफूखुसी वस्तुको मूल्य तोक्ने गरेको,
सफ्टवेयरमा चलखेलको सम्भावना रहेको,
पारदर्शी नभएको लगायतका कैफियत भेटाएको थियो। तर
सरकारले त्यसपछि पनि कुनै
कारबाही अघि बढाएन।
नियमन हुन नसक्दा अन्य
मुलुकमा सञ्चालन भएजस्तो कमोडिटिज कारोबार सुरु हुन सकेको छैन,
जसले वास्तविक बजारको विकासमा पनि असर परिरहेको छ।
Wednesday, 7 January 2015
कमोडिटिज बजारमा सेयर कारोबार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment