Sunday, 14 December 2014

नयाँ नगरपालिकाका कर्मचारीले हाजिर गर्न पाएनन

मन्थली, मंसिर २८ - नवघोषित नगरपालिकासँगै
साबिकका गाविसमा कार्यरत सहायक
स्तरका कर्मचारीको भविष्य अन्योलमा परेको छ ।
तत्कालीन गाविसले नियुक्त गरी कामकाज लगाउँदै
आएका सहायक कर्मचारीलाई नगरपालिकाले हाजिर
गराएको छैन । उनीहरूको सम्बन्धमा अन्योल भएकाले
हाजिर
नगराएको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत
जगन्नाथ कर्माचार्यले बताए । स्पष्ट निर्देशन प्राप्त
भइसकेपछि आवश्यक व्यवस्था गरिने उनले बताए ।
मन्थली नगरपालिकामा समावेश भएका तत्कालीन ७
गाविसका सहायक
स्तरका कर्मचारी नगरपालिकाको मुख्यालयमा सम्पर्कमा आएर
त्यसै र्फकने गरेका छन् । 'हामीलाई नगरपालिकाले
हाजिर गराएको छैन,' तत्कालीन कठजोर
गाविसका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भने
। नगरपालिकामा समावेश भएका तत्कालीन
गाविसका ६ जना कार्यालय सहयोगी, ६
जना प्राविधिक सहायक र एकजना कार्यालय सहायक
कार्यरत थिए । तत्कालीन
मन्थली गाविसका कर्मचारीले भने
नगरपालिकामा काम काज गर्दै आएका छन् ।
मन्थली, सुनारपानी, भलुवाजोर, कठजोर, सालु,
चिसापानी र भटौली गाविस मिलाएर
बनाएको मन्थली नगरपालिका केही दिनअघि अस्तित्वमा आएको हो ।
नगरपालिकामा काम गर्नुपर्ने साबिकका गाविस
सचिवले समेत आफ्नो कार्य क्षेत्रबारे अनभिज्ञ
रहेको बताएका छन् । अन्यत्र दरबन्दी भई काम गर्दै
आएकाबाहेक ३ जना गाविस सचिवले
नगरपालिकाको कार्यालयमा आएर काम
गर्नुपर्नेमा उनीहरूसमेत नियमित आउने गरेका छैनन् ।
जिविसको निर्देशनबमोजिम गाविसमा कामकाज
गर्दै आएका सामाजिक परिचालकलाई भने
नगरपालिकाले हाजिर गराएको छ ।
सरकारले
नगरपालिका घोषणापछि गरेको परिपत्रबमोजिम
तत्कालीन गाविसका सबै सम्पत्ति र दायित्व
नगरपालिकामा आएको छ । सरकारले गाविसमा काम
गर्दै आएका कर्मचारीलाई समेत नगरपालिकाले काम
लगाउने निर्देशन दिएको थियो । उक्त निर्देशनको भने
पालना गरिएको छैन ।
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत
गोविन्द कट्टेलले साबिकमा गाविसले
नियुक्ति गरेका कर्मचारीलाई
अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाले
काम लगाउनुपर्ने बताउँछन् । 'गाविसले दिएको करार
या अस्थायी नियुक्तिको अवधि बाँकी भएको र नगर
परिषद्ले
कर्मचारी दरबन्दी सिर्जना गरिनसकेको अवस्थामा साबिकका कर्मचारीलाई
काममा लगाउनुपर्ने हुन्छ,' उनले भने । नगर परिषद् पुस
मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

No comments:

Post a Comment