Sunday, 14 December 2014

सुन तस्करी :प्रमुखको सरुवा, समातिएकाको रिहाइ

काठमाडौ, मंसिर २८ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार
कार्यालयको प्रमुखलाई नै सरुवा गरेर सुन
तस्करी आरोपमा पक्राउ परेकालाई धमाधम रिहा गर्न
थालिएको छ । गत असोज ६ देखि निमित्त
प्रमुखको जिम्मेवारी पाएका उपसचिव
सुदीपचन्द्र शाहले एक महिना अवधिमा करिब ३०
वटा मुद्दाका आरोपीलाई सामान्य तारेखमा छाडेका हुन् ।
'सुन
तस्करीका आरोपितको रिहाइमा तदारुकता नदेखाएपछि तत्कालीन
भन्सार प्रमुख किशोरजंग कार्कीको सरुवा गरेर उपसचिवलाई
निमित्त प्रमुखको जिम्मेवारी दिएको देखिन्छ,' स्रोतले भन्यो,
'त्यसपछि भने आर्थिक चलखेल गरी पक्राउ परेकाहरू
दिनहुँजसो धरौटीमा रिहा भएका छन् ।'
कार्की प्रमुख हुँदा ६ महिना अवधिमा पनि हुन
नसकेका निर्णयहरू शाहले एक महिनामै टुंग्याइदिएका हुन् ।
स्रोतका अनुसार अरू आरोपित धमाधम छुटेपछि पक्राउ परेकामध्येका एक
अभिषेक सरकारका बाबुले पनि छोराको रिहाइका लागि पहल थाले । करिब ३
महिनाअघि ७ सय ८९ ग्राम सुनसहित पक्राउ
परेका सरकारको रिहाइको कुरा गर्नासाथ भन्सार प्रमुख शाहले
आफ्नो सञ्जालमा रहेका व्यक्तिमार्फत घूस उठाउने दाउ बनाए । गत
कात्तिक २२ गते भन्सार नासु हरिवंश कार्की,
उनकी श्रीमती लक्ष्मी लम्साल
कार्कीसहित अर्का नासु सुरेश थपलियालाई ७२ लाख
रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको टोलीले पक्राउ गर्यो । 'घटनाको अनुसन्धान
गर्दा भन्सारका निमित्त प्रमुख शाहले सुनकाण्डमा मुछिएकासँग रकम लिएर
सामान्य धरौटीमा रिहा गर्दै आएको भेटियो,' स्रोतले भन्यो,
'७२ लाख बरामद भएको घटनामा शाहसहित अन्य संलग्नहरूविरुद्ध
मुद्दा दायर भएको छ, त्यसबाहेक अन्यमा पनि मिलेमतो भएको छ भन्ने
सूचना आएको छ ।'
अवैध सुन निकासी/पैठारी मुद्दामा विमानस्थल
भन्सार कार्यालयबाट पक्राउ
परेका अभिषेकका बाबुछोराको रिहाइका लागि निमित्त प्रमुख
शाहको कार्यकक्षमा पुगेका थिए । कुराकानीका क्रममा निमित्त
प्रमुख शाहले मुद्दा फाँट प्रमुख हरिवंश कार्कीलाई भेट्न
र 'उनले भनेअनुसार गर्न' सुझाएका थिए । मुद्दाका नासु
कार्कीले भन्सार एजेन्टहरू देवराज भट्टराई र प्रेमकुमार
अधिकारीको सम्पर्क नम्बर दिई पठाएको आख्तियारको छानबिन
प्रतिवेदनमा उल्लेख छ । 'भन्सारका हाकिमहरूलाई मिलाउन २० लाख
रुपैयाँ र काम गरेबापत हामीलाई २ लाख ४० हजार
चाहिन्छ भनेर प्रस्ताव गरे,' अभियुक्तका बाबुको भनाइ उद्धृत गर्दै
अख्तियारस्रोतले भन्यो, 'पछि अनुसन्धान गर्दै जाँदा थप ५० लाख
रुपैयाँ भेटिएको हो ।' अनुसन्धानका क्रममा प्रहरीले
तीन ठाउँबाट करिब ७२ लाख रुपैयाँ फेला पारेको हो ।
कात्तिक २२ को साँझ धुम्बाराहीस्थित मुनलाइट
पार्टी प्यालेसबाट पक्राउ परेका एजेन्टद्वय भट्टराई र
अधिकारीले प्रयोग गरेको सवारीसाधनबाट १२
लाख ८९ हजार रुपैयाँ बरामद भएको थियो । बाँकी १० लाख
रुपैयाँ नासु कार्कीले प्रयोग
गरेको सवारीसाधनका चालक पुरुषोत्तम थापाको साथबाट भेटियो ।
घूसबापत प्रयोग भएको सबै रकम भेटिए
पनि केरकारका क्रममा कार्कीले घरमा थप रकम
रहेको खुलासा गरे ।
अख्तियारको प्रहरी टोली कार्कीको घरमा नपुग्दै
श्रीमती लक्ष्मी लम्साल
कार्कीले श्रीमान् रंगेहात पक्राउ
परेको थाहा पाइन् । त्यसपछि उनले घरमा रहेको ५० लाख
रुपैयाँको मुठो रातो झोलामा हालेर
श्रीमानका साथी एवं
सहकर्मी नासु सुरेश थपलियाको घरमा लुकाइन् । पक्राउ
परेपछि केरकारका क्रममा लक्ष्मीले
दिएको सूचनाका आधारमा थपलियाको घरमा तलासी लिँदा ५० लाख
९७ हजार बरामद भएको हो । अनुसन्धानका क्रममा नासु
कार्कीको मिलेमतोमा भन्सार एजेन्टहरूले अभिषेकका बाबुसँग
मोलमोलाई गरी घूस लिएको र
त्यसको ठूलो हिस्सा भन्सारका निमित्त प्रमुखसम्म पुर्याउने
तयारी भएको अख्तियारको दाबी छ । 'सुन
तस्करीको मुद्दामा मुछिएका आरोपितमाथि सुनुवाइका लागि पेसी तोक्ने
र त्यसपछि निर्णय गर्नेलगायत सम्पूर्ण अधिकारको प्रयोग भन्सार
प्रमुखले गर्छन्,' अख्तियारस्रोतले भन्यो, 'भोलिपल्ट नै
पेसी तोकेर धरौटीमा समेत छाड्ने
तयारी भएको देखिँदा निमित्त प्रमुखको पनि प्रत्यक्ष
संलग्नता पुष्टि भएको हो ।' विशेष अदालतमा अडियो एवं भिडियो रेकर्ड,
संलग्नहरूबीचको वार्तालाप लगायतलाई पेस गरिएको छ ।
घटनाक्रम हेर्दा आर्थिक चलखेल गरी सुन
तस्करीका आरोपितलाई सामान्य धरौटीमा छाड्ने
योजनाअनुसार भन्सार प्रमुखलाई सरुवा गरेर उपसचिव शाहलाई निमित्त
प्रमुख बनाएको स्रोतले बतायो । यसबारे अर्थसचिव सुमन शर्माले आफू
व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन चाहेनन् ।
निमित्त प्रमुख शाहले नियमितजसो घूस उठाउने गरेको अर्को प्रमाण
पनि भेटिएको छ । नासु कार्कीको घरबाट भेटिएको ५० लाख
रुपैयाँमा पनि निमित्त प्रमुख शाह मुछिएका छन् । नासु
कार्कीले थपलियाको घरबाट बरामद भएको ५० लाखमध्ये ४२
लाख रुपैयाँ निमित्त प्रमुख शाहको निर्देशनमा आफूले राखिदिएको बताएका छन्
। कार्कीको बयानअनुसार भारतीय
मूलका जस्ता देखिने व्यक्तिहरू आएर उनको घरमा रकम बुझाएका हुन् ।
घटनाको अघिल्लो दिनमात्रै सुन तस्करीकै क्रममा पक्राउ
परेका एक व्यक्ति धरौटीमा छुटेका थिए ।
बाँकी रहेको ८ लाख रुपैयाँ आफ्नै भनेपछि नासु
कार्कीले त्यसको स्रोत देखाउन नसकेको अख्तियारस्रोतले
बतायो । निमित्त प्रमुखको आदेशअनुसार कार्कीले नै
रकमको भागबन्डा गरेको स्रोतले बतायो ।

No comments:

Post a Comment